काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले अघि सारेको सुशासनको नारा ‘छट्टु स्यालको कथा’ बनेको आरोप लगाएका छन् ।
सोमबारको प्रतिनिधिसभा अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको सुशासनलाई देशले खोजिरहेको बताएका हुन् । उनले भने, ‘कता छ प्रधानमन्त्रीको सुशासन आयोग ? आज जनता र देशले त्यसलाई खोजिरहेको छ ।’
अध्यक्ष लिङ्देनले पछिल्ला दिनमा मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिएको विवरण सार्वजनिक भइरहेपनि कुनै नैतिक जवाफदेहिता नदेखिएको भन्दै असन्तुष्टि जनाए ।
उनले सरकारले राजावादीलाई र गणतन्त्र विरोधीलाई तह लगायौं भनेर डंका नपिट्न आग्रह गरे । उनले भने, ‘राजावादीलाई तह लगायौं, गणतन्त्र विरोधीलाई तह लगायौं भनेर डंका पिटेर जनतालाई भ्रममा पारिएको त ‘छट्टु स्यालको कथा’ पो रहेछ । चिल आयो, चिल आयो भन्ने अनि तल चल्ला टिप्नेजस्तो भयो ।’
लिङ्देनले सत्ता गठबन्धनका दुई ठूला दलले मिलेर देश लुटिरहेको आरोप लगाए । उनले संसदमा मात्रै नभई आवश्यकता परे सडकबाट पनि कडा प्रतिवाद गरिने चेतावनी दिए ।

प्रतिक्रिया