रास्वपाको प्रश्नः सत्ता भ्रष्टाचार र मानव तस्करीमा संलग्नहरुलाई उन्मुक्ति दिने रक्षा कवच हो ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मानव तस्करीमा सरकार र सत्ता संरचना नै संलग्न भएको आरोप लगाएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अशोककुमार चौधरीले मानव तस्करीको विषय संसदमा ४७ दिनदेखि उठाइएको भए पनि त्यसलाई बेवास्ता गरिएको बताए ।

उनले सरकारका संरचना नै मानव तस्करी र भ्रष्टाचारमा संलग्न भएको आरोप लगाए । उनले भने, ‘के सत्ता संरचना, भ्रष्टाचार र मानव तस्करीमा संलग्नहरुलाई उन्मुक्ति दिने रक्षा कवच  हो ? वा श्रृजित षड्यन्त्र हो ? यो प्रश्न अब जनताले सोध्न थालेका छन् ।’

सांसद चौधरीले पछिल्लो समय स्पेनमा सार्वजनिक भएको घटनाले मानव तस्करी कति गहिरो र योजनाबद्ध ढंगले भइरहेको छ भन्ने स्पष्ट भएको बताए ।

उनले यस्ता अपराधमा सरकारी संयन्त्रको संलग्नता बिना सम्भव नभएको पनि बताए । उनले भने, ‘मानव तस्करी र भ्रष्टाचार यदि ठूलो आकारमा भइरहेको छ भने त्यो सरकारी संयन्त्रको साथविना सम्भव छैन । यस्ता गम्भीर आरोपबीच कर्तव्यच्यूत भएर पदमा टिकिरहनु नैतिकताको पनि अपमान हो । निर्दोष जनतालाई जेल र भ्रष्ट मन्त्रीहरुलाई कुर्सी यो सरासर अन्याय हो ।’