काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार पनि सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबित्तिकै दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
रास्वापकी सांसद सोबिता गौतमले ‘भिजिट भिसा’ प्रकरणमा कैयौँ दिनदेखि आवाज उठाउँदै आए पनि सरकार गम्भीर नभएको बताइन् ।
उनले उच्चस्तरीय छानबिन समितिको माग गर्दै विरोधस्वरुप आज पनि संसद् बहिष्कार गरेको बताइन् । ‘रास्वपा केही समयदेखि भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी गर्ने कार्यविरुद्ध संसदीय छानबिन समिति वा उच्चस्तरीय जाँचबुझ आयोगको मागसहित सदनमा विरोधमा उभिएको छ,’ उनले भनिन् ।
सांसद गौतमले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि जोडिएको गम्भीर विषयमा पनि उच्चस्तरीय छानबिन समिति नबनाएर स्वार्थ बाझिने अनुपयुक्त पात्रको नेतृत्वमा एउटा सामान्य प्रशासनिक समिति बनाएको विषयमा खेद र आपत्ति रहेको बताइन् ।
सांसद गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रमको बहानामा गएका मानिसहरू नफर्किएको बताइन् ।
उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहाना गरेर नफर्किएको भन्नेलगायतका समाचारहरू पनि आइरहेका छन्। व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन तर यो विषय गम्भीर हो।’
यसैगरी, राप्रपाका सांसद ज्ञानबहादुर शाहीले लामो समयदेखि संसदा भिजिट भिसा प्रकरणसम्बन्धी आवाज उठाइरहे पनि सरकारले सुन्न नखोजिरहेको बताए ।
उनले भने, ‘हामीले सरकारविरुद्ध गर्न खोजेको गतिविधि होइन । यो मानव बेचबिखन विरुद्धको अभियान हो । छानबिन समिति बनोस् । यहाँ सङ्ख्याका आधारमा होइन अपराधका आधारमा छानबिन समिति बनोस् ।’

प्रतिक्रिया