२०८४ को चुनावलाई हेरेर ०८३ मंसिरभित्र १५ औं महाधिवेशन गर्नुपर्छः महामन्त्री थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ औं महाधिवेशन २०८३ को मंसिर कटाउन नहुने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले अब बस्ने केन्द्रीय समितिको बैठकले १५ औं महाधिवेशनको मिति तोक्ने बताए । उनले २०८४ को चुनावलाई हेरेर २०८३ मंसिरभित्र १५ औं महाधिवेशन गर्नुपर्ने बताए ।

उनले भने, ‘२०८४ को चुनावलाई हेरेर २०८३ मंसिरभित्र १५ औं महाधिवेशन गर्नुपर्छ । हामी आगामी दशैं आसपास बस्ने केन्द्रीय समितिबाट महाधिवेशनको मोटामोटी कार्यतालिका प्रस्ताव गर्छौं ।’

उनले क्रियाशील सदस्यतामा पहिलोपटक नयाँ अभ्यास गरेको विषयमा गलत भाष्य बनाइएको बताए । उनले भातृ संस्थाको अधिवेशन गर्न समय दिँदै आए पनि नहुनु बिडम्बना भएको बताए । पटक–पटक समय दिँदा पनि नगरेपछि अब अधिवेशन सम्पन्न नभए स्वतः म्याद समाप्त हुने व्यवस्था गरेर जानुपर्ने उनले बताए ।