डेटिङ एपहरूले मानिसहरूलाई प्रेमसम्बन्धका निम्ति अनेकौँ विकल्पहरू उपलब्ध गराइरहेको र त्यस्ता सम्बन्धहरूको परिचयले विभिन्न स्वरूप लिँदै गरिरहेको अहिलेको समयमा एउटा प्रश्न झन सान्दर्भिक बन्दै गैरहेको छः के मानिसहरू प्राकृतिक रूपमै एक जनासँग मात्र यौन सम्बन्ध राख्ने स्वभावका अर्थात् मोनोग्यामस् हुन् त ? लन्डनमा बसिरहेकी रोमेनियाकी एलिनाले पोलिआमोरी अर्थात् संलग्न सबै पक्षको पूर्व सहमतिमा धेरै जनासँग यौन सम्पर्कको अनुभव गरेपछि सोही प्रश्नमा घोत्लिन थालेको बताउँछिन्।
‘मैले हालसालै एक जनालाई भेटेँ जो धेरै जनासँग यौनसम्बन्धमा छन् र सधैँ त्यस्तै रहँदै आएका छन्,; उनी भन्छिन्। ‘म जान्न चाहन्थेँ: हामी समाजका रूपमा किन मोनोगामी अर्थात एकजनासँग मात्रै जोडी बनाउनु पर्ने मान्यता पालना गरिरहेका छौँ?’हामी मानवहरूको क्रमिक विकासवादी बाटो बुझ्ने एउटा तरिका भनेको हामीजस्ता अन्य प्राणीहरू (प्राइमेट्स) र उनीहरूका प्रजनन रणनीतिहरूको अध्ययन गर्नु हो।
‘गोरिल्लाहरू धेरै यौन जोडीसँग सम्बन्ध राख्नेहरू हुन् – एउटा भालेले धेरै पोथीहरूसँग सहवास गर्छ,’ यूकेको ब्रिस्टल विश्वविद्यालयका क्रमिक विकासवादी जीवविज्ञानशास्त्री डा. किट ओपी भन्छन्। ‘त्यसैले समूहभित्रका सन्तानहरू सबै त्यही भालेका हुन्छन् तर समूह भित्रका फरक पोथीहरूबाट जन्मिएका हुन्छन्।’ तर त्यो प्रभावकारी प्रजनन रणनीति नभएको बताउँदै डा. ओपीले यसले शिशु हत्याको उच्च दर निम्त्याउने बताउँछन्। ‘शिशु हत्या गोरिल्ला जीवनको एकदमै भयानक पक्ष हो,’ उनी भन्छन्।
‘यो तब हुन्छ जब एउटा भाले गोरिल्लाले आफूसँग सम्बन्ध नभएका बच्चा गोरिल्लाहरूलाई मार्छ जसले गर्दा तिनका आमा छिटो सन्तान उत्पादनका लागि सक्षम हुन्छिन् र उसले तीसँग संसर्ग गर्न सकोस्। त्यो सम्भवतः हामीले अनुकरण गर्न चाहेको विकासवादी रणनीति होइन।’ मानव जातीसँग मिल्दाजुल्दा रहेका वानर प्रजातिका चिम्पान्जी र बोनोबोजस्ता अन्य जनावरहरूमा पोथीहरूले भिन्न क्रमिक विकासवादी उपाय अपनाउने गर्छन्।
पोथीहरू एकभन्दा धेरै भालेसँग संसर्ग गर्छन्। त्यसले तिनका बच्चा कुन भालेबाट जन्मेको हो भन्ने द्विविधा सिर्जना गर्छ र सन्तानहरूलाई हानी पुग्ने सम्भावना कम हुन जान्छ। मानवहरूले पनि सम्भवतः यस्तै बहु-पुरुष, बहु-स्त्री प्रजनन समूह भएका प्रणालीबाट सुरु गरेका थिए। तर झन्डै २० लाख वर्षअघि परिस्थिति फेरियो। ‘यसको कारण जलवायु परिवर्तन थियो,’ डा. ओपी भन्छन्।
‘सब-साहारन अफ्रिका जहाँ हाम्रा पुर्खाहरू बस्थे त्यहाँ सुख्खापन थियो र ठूलो भाग घाँसे मैदान बन्यो। सुरुवाती समयका मानिसहरू आफूलाई ठूलो सङ्ख्याका सिकारी जनावरबाट बचाउन ठूलो समूहमा हुनुपर्थ्यो। यी ठूला जटिल समूहहरूसँग व्यवहार गर्न दिमाग ठूलो हुँदै गयो र त्यसैले स्तनपानको अवधि बढ्न पुग्यो।’ तर ठूला समूहहरूमा धेरै पुरुषहरू हुने हुँदा पितृत्वमा अन्योल सिर्जना गर्न महिलाहरूलाई गाह्रो हुँदै गयो। ‘साथै महिलाहरूलाई आफ्ना सन्तान हुर्काउन पनि कुनै एक पुरुषको मद्दत चाहिने भएकाले उनीहरूले एक जनासँग मात्र संसर्ग गर्ने तरिका अपनाए।’
के मोनोग्यामी, एकजनासँग मात्रै गरिने विवाह, जीवनको उत्तम रणनीति हो ?
डा. ओपीका अनुसार यो परिवर्तन मोनोग्यामी ‘राम्रो’ भएकोले नभईकन यो एक मात्र व्यवहारिक विकल्प भएकाले आवश्यक थियो। ठूलो दिमाग भएका, ढिलो विकास हुने मानव शिशुहरूलाई हुर्काउन आमाबाबुको ठूलो लगानी आवश्यक पर्थ्यो जुन आमाले आफैँले व्यवस्थापन गर्न सक्ने भन्दा बढ्ता थियो।
तर अनुसन्धानहरूले सुरुको समयका मानिसहरूको क्रमिक विकास हुँदै एकजनासँग मात्र जोडी बनाउने अर्थात मोनोग्यामस हुने गरी विकसित भएको देखाएता पनि जोजस्ले एकजनामात्र यौन जोडी बनाउने व्यवहार अपनाएका छन् तिनीहरू आफ्ना ति जोडीदार प्रति यौनका दृष्टिले वफादार रहन प्रायःजसो सङ्घर्ष गर्ने गर्छन्। ‘सम्पूर्ण जीवनभर एउटा जोडीदारसँग मात्रै यौनसम्बन्ध राख्ने जनावरका प्रजातिहरू पनि छन् जसले कहिल्यै अर्को जोडीदारलाई धोका दिँदैनन् तर त्यस्ता प्राणी निकै दुर्लभ छन्,’ डा. ओपी भन्छन्।
‘मोनोग्यामस रहेका हाम्रा नजिकका जाती भनेका गिबनहरू हुन्। तर गिबनहरूलाई अन्य जोडीहरूबाट अलग भएर बस्छन् र जङ्गलको आफू बस्ने भागमा को आयो को आएन भनेर विचार पुर्याउन तिनीहरूलाई सम्भवतः सजिलो हुन्छ।’ ‘तर जब मानिसहरूकोजस्तै धेरै भाले, धेरै पोथी भएको ठूलो समूहमा त्यस्तो निगरानी गर्न र यौनजोडीले धोका दिएको छ छैन भनेर थाहा पाउन धेरै गाह्रो हुन्छ।’ यसरी विचार गर्दा एकजनासँग मात्र यौनसम्पर्क हुने गरी जोडी बाँध्ने प्रचलन स्वाभाविक रूपमा प्राकृतिक व्यवहारभन्दा पनि बढी रूपमा जीवन रक्षा गर्ने रणनीति हो। र यस्तो व्यवहारसँगै यो सँग जोडिएका कमजोरीहरू पनि साथै आएका छन्।
सम्बन्ध बलियो बनाउने रसायनशास्त्र
त्यसो भए मानिसहरू प्रेममा पर्दा वा एकआपसप्रति यौनका हिसाबले प्रतिबद्ध रहन सङ्घर्ष गर्नुपर्ने अवस्थामा हुँदा मानव मस्तिष्कमा के हुन्छ ? अमेरिकाको एमोरी विश्वविद्यालयमा स्नायु विज्ञानका पीएचडी विद्यार्थी सारा ब्लुमन्थोलले ‘प्रेयरी भोल’ भनिने मुसा जस्ता जनावरहरूको अध्ययन गर्छिन्। यी साना रौँले ढाकिएको शरीर भएका साना आकारका जनावरहरू मानिसहरू जस्तै लामो समय चल्ने जोडी बाँध्ने भनेर परिचित छन्। उनीहरू जस्तै तर ‘ननमोनोग्यामस’ भोल (एक प्रकारको मुसा प्रजाति) भन्दा प्रेयरी भोलहरूको मस्तिष्कमा उच्च मात्रामा अक्सिटोसिन रिसेप्टरहरू हुन्छन्।
अक्सिटोसिनलाई ‘अँगालो होर्मोन’ पनि भनिन्छ यो एक ‘न्यूरोकेमिकल’ हो जुन शारीरिक स्पर्श र जोडीहरू साथै बसेका समयमा मस्तिष्कमा उत्पन्न हुन्छ। ‘यदि हामीले परीक्षणका रूपमा प्रेयरी भोलहरूको अक्सिटोसिनलाई गडबड पारिदियौँ भने उनीहरूले बलियो सम्बन्ध स्थापित गर्न सक्दैनन् र आफ्ना पार्टनरसँग कम समय बिताउँछन्,’ भन्छन् ब्लुमन्थोल। मानिसहरूमा त्यस्तै अक्सिटोसिन प्रणाली हुन्छ त्यसको अर्थ हुन्छ हाम्रा मस्तिष्कहरू सम्बन्ध विकासलाई राम्रो मान्ने गरी विकसित भएका हुन्।
तर अर्को रसायन डोपामिनले हाम्रो नवीन व्यवहार र प्रतिबद्धताको इच्छामा परिवर्तनको व्याख्या गर्न सक्छ। बोन्डिङको सुरुवाती चरणमा मस्तिष्क डोपामिनले भरिन्छ, जसले खुलापन र आकर्षण बढाउँछ। जब एक पटक सम्बन्ध स्थापित हुन्छ डोपामिनको प्रवृत्ति परिवर्तन हुन्छ।
धेरै श्रीमान् हुने महिलाहरू
एकजनासँग मात्र जोडी बनाउने विवाहको प्रचलनका बारे प्रष्ट्याउन क्रमिक विकासको सिद्धान्त अनुसार तार्किक व्याख्या उपलब्ध भएपनि मानव संस्कृतिले सदैव विविध प्रकारका प्रेम सम्बन्धहरूको प्रदर्शन गरिरहेको पाइन्छ। अमेरिकाको युनिभर्सिटी अफ इलिनोइ शिकागोमा मानव विज्ञानशास्त्री डा केटी स्टार्कवेदरले एक महिलाको धेरैजना पति हुने एसियामा नेपाल, तिब्बतदेखि अफ्रिका र अमेरिकी मुलुकहरूमा ५० भन्दा बढी उदाहरणहरूको अभिलेखिकरण गरेकी छन्। बहुपति प्रथा बहुपत्नी प्रथा भन्दा दुर्लभ देखिन्छ तर यो असम्भव नभएको स्टार्कवेदर बताउँछिन्।
‘धेरै पति हुने महिलाहरू आर्थिक रूपमा फाइदामा हुन सक्छन्। यदि तपाईँको मुख्य श्रीमानको मृत्यु भयो वा कारणवश लामो समय घरमा अनुपस्थित हुने अवस्था आयो भने – जस्तो कि केही आदिवासी उत्तर अमेरिकी समूहमा यस्तो अवस्था थियो – यसले तपाईँलाई त्यस्तो अवस्थामा के गर्ने भन्ने किसिमका योजना बनाउन सहयोग गर्छ,’ उनी भन्छिन्। केही अवस्थामा, एकजनासँग मात्र विवाह बन्धनमा नबस्ने व्यवस्थाबाट आनुवंशिक लाभ भएको पनि पाइयो।
‘मानिसहरू धेरै बिरामी परिरहने र बिमारीका कारण मृत्यु भइरहने अवस्था भएका ठाउँमा यदि तपाईँका फरक आनुवंशिक गुण भएका बच्चा छन् भने त्यस्ता बच्चा बिरामी नपर्ने हुन सक्छन् र तपाईँलाई फाइदा पुग्न सक्छ’ स्टार्कवेदर भन्छिन्। उनीहरू त्यो वातावरणमा राम्रोसँग बाँच्न सक्ने अवस्थाका हुन सक्छन्।’ तर धेरैजनालाई यौन जोडी बनाउने व्यवहार चुनौतीरहित भने होइनन्। एकजनाभन्दा बढीसँगको सम्बन्धलाई कायम राख्न समय लाग्छ, भावनात्मक ऊर्जा र कुराकानी तथा लेनदेनका कुरा पनि मिलाइरहनु पर्ने हुन्छ।
‘पुरुष वा महिला जसलाई भएपनि धेरैजना पति वा पत्नी बनाउनु अत्यन्त कठिन काम हो। आर्थिक रूपमा यो कठिन हुन्छ र भावनात्मक रूपमा पनि कठिन छ। त्यसैले गर्दा पनि मलाई मोनोग्यामी, एकैजनासँग जीवनभर साथ रहने वैवाहिक सम्बन्धको रूप नै तथ्याङ्कका हिसाबले सबभन्दा धेरै व्यवहारमा प्रचलित सम्बन्ध बनिरहन सकेको हो जस्तो लाग्छ, ‘ स्टार्कवेदर भन्छिन्।
एकै समयमा धेरैजनासँग प्रेमसम्बन्ध राख्नेहरूको दृष्टिकोण
एलिनाको पहिलेको प्रेमसम्बन्धमा मोनोग्यामी अर्थात एकजनासँग मात्र सिमित यौनसम्बन्धको व्यवहार सफल रहेन। अहिले एकै पटक धेरैजनासँगको प्रेमसम्बनधमा रहँदा उनी जटिल प्रकृतिको भावनात्मक संवेगहरूको अनुभव गरिरहेकी छन्। ‘ईर्ष्याको भावना असाध्यै मुस्किल र बलियोसँग जागृत हुन सक्छ,’ उनी स्वीकार गर्छिन्। ‘तर मेरा लागि व्यक्तिगत रूपमा भन्नु पर्दा उनीहरू मप्रति इमान्दार छैनन् की भन्ने सोच आउँदा त्यस्तो भावनात्मक आवेश आउन सक्छ। तर फेरि ए उनीहरू त इमान्दार नै रहेछन् भन्ने थाहा भएपछि ईर्ष्याको वेग व्यवस्थापन गर्न सहयोग पुग्छ।’
उनको पार्टनर यो कुरामा सहमति जनाउँछन्, ‘म पनि भन्छु खासमा ईर्ष्या ठूलो मुद्दा होइन। स्वस्थ बहुसम्बन्ध राख्न आवश्यक पर्ने समय र प्रयत्नको मात्रा चाहिँ बढ्तै हुन सक्छ।’ उनीहरू दुवै जना भन्छन्, त्यसो गर्नु औचित्यपूर्ण सावित भएको छ। ‘यसमा पूर्वपरिभाषित नियमहरू छैनन्,’ एलिना भन्छिन्। ‘यसो हुँदा अरूबेला नगरिने खालका कुराकानी गर्न समेत त्यसले तपाईँलाई बाध्य बनाउँछ र त्यसले हाम्रो सम्बन्ध बलियो बनाएको छ।.
के त्यसोभए के हामी मानिसहरू प्राकृतिक रूपमा नै मोनोग्यामस, एकजनासँग मात्रै जोडी बाँध्ने प्राणी हौँ त? यो प्रश्नको जबाफ हो र होइन दुइटै हुने देखियो।विभिन्न संस्कृतिहरू र इतिहासमा मानवजातिले आफ्नो सामाजिक, आर्थिक र पर्यावरणीय परिस्थिति अनुकुल हुने गरी आपसी प्रेमसम्बन्धका विभिन्न मोडल विकास गरेका छन्। केहीका लागि एकैपटकमा एकभन्दा बढीसँग यौन सम्बन्ध बनाउने व्यवहारले भावनात्मक स्वतन्त्रता र आर्थिक लचकता उपलब्ध गराउँछ। अन्यका लागि भने मोनोग्यामी अर्थात एकजनासँग मात्रै वैवाहिक सम्बन्ध राख्ने व्यवहार माया पाउने सबभन्दा सरल र व्यवस्थापनका दृष्टिले सजिलो उपाय हो। ‘ क्रमिक विकास हुँदै मानिसहरू लचिलो बन्न पुगेका छन् र त्यसमा हाम्रो प्रेमसम्बन्धको तरिका र हामी कसरी विवाह गर्छौँ भन्ने सम्मको व्यवहार पनि पर्छ,’ केटी स्टार्कवेदर भन्छिन्। ‘हामी हाम्रो ग्रहमा हरेक प्रकारको वातावरणमा बस्छौँ, र त्यो हाम्रो लचिलोपन र व्यवहारकै कारण सम्भव हुन गएको हो।’
-क्राउडसाइन्स प्रोग्राम
बीबीसी विश्व सेवा

प्रतिक्रिया