-डा. गोविन्दशरण उपाध्याय ।
केही मान्छेहरू विगतको प्रसंशा र वर्तमानप्रति निकै आलोचक हुन्छन् । खासगरी धार्मिकहरू विगतवादी हुन्छन्, उनीहरू विगतलाई स्वर्णकालका रूपमा प्रस्तुत गर्छन् । इसाईहरूले वाइबलमय जीवन, मुस्लिमहरूले कुरानमय जीवन, बौद्धहरूले त्रिपिटकमय र वैदिकहरूले वैदिक जीवनशालीलाई सर्वोच्च सदाचार कर्तव्यका रूपमा देख्छन् । सबै धर्मवादीहरूको विगतवादी मानसिक सेट भएको सजिलै बुझ्न सकिन्छ ।
मान्छे एउटा तार्किक प्राणी हो र परिवेश र आवश्यकताअनुसार उसका रुचिहरू बदलिन्छन् । व्याबहारिक रूपमा कुनै पनि व्यक्ति पुर्खाको समयमा फर्किन सक्दैन । पूर्खाको प्रविधि र बर्तमानको प्रविधिमा धेरै अन्तर आइसकेको हुन्छ । धर्महरूको विकास हुँदा अहिलेको जति जनसंख्या, प्रविधि, शिक्षाआदि थिएनन् । रमाइलोका लागि सेक्स, खानपिन र खेलहरूको विकल्प थिएन । त्यसैले सेक्स– खानपिनका सवालमा धेरै नियमहरू बने । शिक्षामा पहुँच भएका शिक्षितहरूले शिक्षालाई पनि आफुसम्म सीमित राख्ने व्यबस्था मिलाए र अर्कामाथि प्रभुत्व जमाउने साध्यका रूपमा प्रयोग गर्न थाले ।
मेरो व्यक्तिगत अनुभवमा विगतका मान्छेहरू भन्दा अहिलेका मान्छेहरू बढी सभ्य, तार्किक र अर्काको सुरक्षा तथा सुखको लागि बढी सहयोगी छन् । विगत भन्दा अहिले मान्छेको समाज बढी निर्धक्क, सृजनशील तथा मैत्रीपूर्ण छ । प्रविधिको विकासले मान्छेको जीवनशैलीलाई धेरै सजिलो बनाएको छ । मान्छेसंग सृजनशीलताको लागि बढी समय उपलब्ध छ । पहिलेका मान्छेहरूको धेरैजसो समय ‘पेट पाल्न र आफ्नो सुरक्षा’मा वित्ने गथ्र्यो तर अहिले पेट पाल्ने र सुरक्षाका लागि विश्वको ९०% मान्छे निर्धक्क छ ।
यदि धार्मिकहरूले बोल्नेगरेझैँ विगत शान्तिपूर्ण थियो भने प्रथम शताब्दीदेखि १८ औं शताब्दीसम्म धेरैधेरै वैज्ञानिक कार्यहरू सम्पन्न भैसकेका हुन्थे र आजको समयमा मान्छेले अल्फा–सेन्चुरीको यात्रा गर्न सक्ने रकेट बनाउनेतिर काम गरिरहेका हुन्थे किनभने १० औं शताब्दितिर नै मान्छे चन्द्रमामा पुगिसकेको हुन्थ्यो र हरेक मान्छेको आयु कमसेकम दुई हजारवर्ष पुगिसकेको हुन्थ्यो । धार्मिक युद्ध, स–साना राजाहरू शक्तिका लागि हुने युद्ध, भोकमरी, महामारी आदिले मान्छेले निर्धक्क हुनै पाएन ।
आजको मान्छेको समाज बढी ‘निर्धक्क’ छ त्यसैले प्रविधिको विकास गरेर हरेक क्षण चमत्कार गरिरहेको छ । साच्चिकै भन्ने हो भने कुनै पनि धार्मिक (Religious) हरूले वैज्ञानिक विकासहरूलाई देख्न नसकेका हुन् र अहिले पनि रिलिजनहरूले प्रविधिलाई स्वीकार गर्न सकेका छैनन् । धार्मिक मान्छे र धर्मग्रन्थको भनाई सर्वश्रेष्ठ हुन्छ भन्ने मान्यता र त्यसप्रकारको जीवनशैलीलाई पुनस्थापना गर्ने चिन्तन र अभियान दूवै खोटपूर्ण र असम्भव कुरा हुन् । हो, असल कुराहरूलाई स्वीकार गर्नुपर्छ तर असम्भव कुराहरूलाई ‘स्वर्णयुग, कर्म’ भन्दै प्रसंशा गर्नुको कुनै औचित्य छैन ।
धार्मिक (Religious) नैतिकता र व्यबहारलाई दैनिकीमा फर्काउने अडान लिंदा समाज अफगानिस्तान, सुडानजस्तो बन्छ भने विज्ञानको भरोसा गर्ने, धार्मिकतालाई धार्मिक जीवनसम्म सीमित राख्ने हो भने मुलुक दुबई, जापानजस्तो बन्छ । धार्मिकहरूले न चाहँदा न चाहँदै पनि धार्मिकहरूले विज्ञान–प्रविधिहरूलाई स्वीकार गर्न बाध्य छन् । त्यसैले पुरानो समाजका असल कुराहरू सिक्नुपर्छ, अपनाउनु पर्छ तर पुरानो युगमा फर्कन सकिन्न भन्ने तत्थ्य आत्मसात गर्नुपर्छ । नत्र आगामी सयवर्षपछि धर्म र धार्मिकता इतिहासका विषय हुने छन् ।
आजको समाजले विनाशक शस्त्र निर्माण रोक्ने, युद्धहरू नगर्ने, गास, वास, आवास, स्वास्थ्य तथा शिक्षाको पहुँच सबैका लागि र सबैतिर सुनिश्चित गर्नेतिर बढी ध्यान दिनुपर्छ । बाइबल र कुरान बोकेर विश्वशान्ति प्राप्त हुन्छ, मान्छेले रोग, भोकउपर विजय प्राप्त गर्छ, बाइबल नै बोलेर अल्फा–सेन्चुरीको यात्रा गर्ने यन्त्र बनाउने क्षमताको विकास गर्छ भनेर सोच्नु मूर्खता बाहेक केही हुँदैन । आजको मान्छे अगाडी बढ्छ, पछाडी फर्किन्न ।

प्रतिक्रिया