अमरेश स्पष्ट, तर हाम्रो नियत बरु अलि अष्पष्ट हो कि ?


-नारायण गाउँले ।

यी अलि अराजक र अभद्र नै छन् तर यिनले संसदमा बोलेको कुरोमा विरोध गर्नु भनेको या त साह्रै लद्दू हुनु हो या नक्कली राष्ट्रवाद बेचेर धनी हुने राजनैतिक छट्टूपन मात्रै हो । ‘बजेट जति झापा या काठमाडौंजस्ता दुई चारवटा जिल्लामा मात्रै बाँड्ने हो भने अरू जिल्लालाई नेपालमा किन राख्न पर्यो ? लिजमा दिए भयो ! तिनै चार जिल्लालाई नेपाल भने भयो !’ यो उनको अभिव्यक्ति रहेछ ।

यो अभिव्यक्तिको तात्पर्य र सजिलो लाक्षणिक अर्थ पनि नबुझ्ने सांसद पनि हुँदा रहेछन् । बजेट जति प्रधानमन्त्री या मन्त्रीको जिल्लामा जान भएन, हरेक जिल्लामा समानुपातिक रूपले पुग्नुपर्यो भन्ने सोझो र स्पष्ट आशय छ । हामीले नेपाललाई लिजमा दिनपर्यो भन्ने भाषणका रूपमा बुझेछौं । यत्तिको भाषिक व्यङ्ग्य पनि नचल्ने, नबुझ्ने र यत्तिकै देशद्रोही बनाइदिने होडमा लागेछौं ।

एउटा आमाले छोरालाई ‘यत्रो पाखुरा हुँदा पनि उपति गर्न नसक्ने भए डाडूको पानीमा डुबेर मर्’ भन्छिन् । अब काम खोज्नुको सट्टा डाडूमा डुबेर मर्न उक्साएको भन्दै छोरो पुलिस स्टेशन गएजस्तै कुरो भयो यो ! ‘यदि इतिहासले सम्झिने गरी नाम राख्न सकिन्न भने बाँचेर कुनै अर्थ छैन’ भन्दै एउटा शिक्षकले कक्षामा बोल्यो भने त्यसको अर्थ मर्न प्रेरित गरेको भनेर लगाउने ?
मुलुकको सार्वभौम सत्ता, अखण्डता, सुरक्षा, सम्मान र स्वाभिमानविरुद्धको भयङ्कर अभिव्यक्तिका रूपमा यसको विरोध भएछ ।

त्यस्तो सामान्य व्यङ्ग्यलाई बहस बनाएर उल्टो हामीले लिजलाई कोशीय अर्थमा उकाल्दै छौं ! अमरेशको नियत र आशय बजेट सबैतिर पुग्न पर्यो, नेपालको बजेट नेपालभरि बाँडिनु पर्यो भन्ने स्पष्ट छ । तर हाम्रो नियत बरु अलि अष्पष्ट छ !