काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले सडकदेखि सदनसम्म जनताको आवाजलाई निरन्तर बुलन्द बनाइरहने बताएका छन् ।
पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अर्यालले संघीय संसदमा आफ्नो उपस्थितिलाई अझै प्रभावकारी र परिणाममुखी बनाएर सरकारका गलत कामको खबरदारी गर्ने र जनमुखी कानून निर्माणमा निर्णायक भूमिका खेल्ने हाम्रो संकल्पलाई पछिल्ला घटनाक्रमले अझै दृढ बनाएको उल्लेख गरेका हुन् ।
उनले छोटो अवधिमा मन र मतमार्फत् प्रदर्शित अपार जनविश्वास र भविष्यको आशाका रुपमा गरिएको चित्रणप्रति सदैव कृतज्ञ रहने बताएका छन् । उनले परिवर्तनका पक्षधर शक्तिलाई कमजोर बनाउन राज्य संयन्त्रको दुरुपयोग गरी सभापति रवि लामिछानेविरुद्ध अनेकौं मुद्दा लगाइएको र सभापतिको प्रत्यक्ष अनुपस्थितिले अभिभावकीय स्थान रिक्त भए पनि राज्यको अनुदार चरित्रले हामीलाई थप एकताबद्ध र दृढ भने बनाएको उल्लेख गरेका छन् । उनले कानूनी लडाइँलाई सशक्त बनाउँदै सुनियोजित षड्यन्त्रको जनस्तरबाट समेत प्रतिवाद गरिरहेको बताएका छन् ।
उनले भनेका छन्, ‘हामी अभियानकै रुपमा पार्टीको विस्तार र सुदृढीकरणमा सक्रिय छौं । यसको निरन्तरताले जीवन्त र अनुशासित संगठनको रूपमा सुदृढ हुँदै आम नागरिकको आवाजलाई सशक्त बनाउन हामी थप सक्षम हुने छौं । संघीय संसदमा आफ्नो उपस्थितिलाई अझै प्रभावकारी र परिणाममुखी बनाएर सरकारका गलत कामको खबरदारी गर्ने र जनमुखी कानून निर्माणमा निर्णायक भूमिका खेल्ने हाम्रो संकल्पलाई पछिल्ला घटनाक्रमले अझै दृढ बनाएको छ ।’
दशकौंदेखि देशमा जरा गाडेको दलतन्त्रको सिण्डिकेटले सिर्जना गरेका विकृति–विसंगतिको भण्डाफोर अभियानमा रहेको भन्दै उनले विधिको शासन र जनमैत्री सेवकको नीतिको अक्षरशः कार्यान्वयनले मात्रै विद्यमानको निराशा र आक्रोश अन्त्य गर्नेछ भन्नेमा हामी विश्वस्त रहेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया