‘पार्टीमा यस्तै अवस्था रहे भोलि ‘मरें मरें’ भनेर गुहार माग्दा पनि कार्यकर्ताहरू आउन रुचि राख्ने छैनन्’


काठमाडौं । अनेरास्ववियुको २४ औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार प्रकाश पौडेलले पार्टीमा जनताको बहुदलीय जनवाद मान्दै आफैं सोच्ने र निर्णय गर्ने अवस्थामा पुगिसकेको बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत पौडेलले पार्टी संकटमा पर्दा गर्धन थापेका कार्यकर्ता निराश हुन थालेका बताएका हुन् । उनले भनेका छन्, ‘पार्टी संकटमा पर्दा गर्धन थापेका विचारको कलम बोकेका कार्यकर्ता भन्दैछन् तपाईंहरू त नबदलिनुहोला, तर समय र कार्यकर्ताहरू भने फराकिलो सोच राख्दै, जनताको बहुदलीय जनवाद मान्दै आफैं सोच्ने र निर्णय गर्ने अवस्थामा पुगिसकेका छन्।’

उनले यस्तै अवस्था रहे भोलि ‘मरें मरें’ भनेर गुहार माग्दा पनि कार्यकर्ताहरू आउन रुचि नराख्ने बताए । उनले भनेका छन्, ‘आजभोलि हाम्रो पार्टीका नेताहरूले सार्वजनिक मञ्चमा बोलेको सुन्छु—पहिले सिठी फुक्दा हजारौँ कार्यकर्ता भेला हुन्थे, तर आजभोलि त्यसो हुँदैन । अझै पनि यस्तै रवैया कायम राख्दै, आफ्नै कार्यकर्तालाई ‘आधिकारिक’ र ‘अनाधिकारिक’ भन्दै विभाजन गर्ने र स्वच्छ प्रतिस्पर्धाबाट वञ्चित गर्ने योजना अघि बढाइरहने हो भने, भोलि ‘मरे मरे’ भनेर गुहार माग्दा पनि कार्यकर्ताहरू आउन रुचि राख्ने छैनन्।’