इरानको भूमिगत परमाणु प्रशोधन केन्द्र ‘फोर्डो’ ध्वस्त पार्न ३० हजार पाउन्ड क्षमताको बम हान्ने अमेरिकी तयारी


बीबीसी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खामिनीलाई आत्मसमर्पण गर्न सुझाव दिएका छन् । उनले सर्वोच्च नेता आयतुल्लाह खामिनी ‘हाललाई सुरक्षित’ रहेको र आत्मसमर्पण गर्नु नै उपयुक्त हुने बताएका हुन् ।

उनले  आफ्नो सरकारसँग ‘इरानी   आकाशमाथिको पूर्ण नियन्त्रण’ रहेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘हामीसँग अहिले ईरानको आकाश पूर्णरूपमा नियन्त्रणमा छ ।’

ट्रम्पले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी जारी गरेपछि उनले एक घण्टा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग आपतकालीन बैठक गरेका थिए। बैठकअघि नै पेन्टागनले सम्भावित आक्रमणको तयारीस्वरूप युरोपतर्फ करिब तीन दर्जन इन्धन आपूर्ति विमान खटाइसकेको थियो।

ती विमानहरूले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूमा तैनाथ लडाकु विमानहरूलाई सहायता गर्नुका साथै अमेरिकाबाट उडाइने बी–२ बमवर्षकहरूलाई इन्धन भर्ने कार्यमा प्रयोग गरिने बताइएको छ । बी–२ बमवर्षकको पहिलो लक्ष्य इरानको गहिरो भूमिगत परमाणु प्रशोधन केन्द्र ‘फोर्डो’ हुने सम्भावना रहेको अमेरिकी अधिकारीहरूको अनुमान छ ।

करिब १५ वर्षअघि निर्माण गरिएको यो केन्द्र पहाडी सुरक्षाका कारण अत्यन्त कठिन लक्ष्य मानिन्छ । बीबीसीका अनुसार त्यो अस्त्र भनेको ३० हजार पाउन्ड क्षमताको बम हो ।

पहाडको ९० मिटर मुनि गहिराइमा निर्मित इरानको परमाणु केन्द्र ध्वस्त पार्ने क्षमता जीबीयू–५७ एमओपी नाम भएको उक्त मासिभ अर्डनान्नस पेनिट्रेटर बमसँग मात्र भएको बताइन्छ । त्यसले जमिनभन्दा ६१ मिटर मुनिसम्म प्रहार गर्न सक्ने अनि निरन्तर प्रहार गर्दा त्योभन्दा तलसम्म असर पार्न सक्ने बताइन्छ ।

सीबीएस न्यूजका अनुसार राष्ट्रपतिका सल्लाहकारहरू अब के गर्ने भन्ने बारे अझै विभाजित छन् । गत तीन दिनमा कम्तीमा ३० वटा अमेरिकी सैन्य ट्याङ्कर एरक्राफ्ट – लडाकू जेट तथा बमवर्षकहरूलाई इन्धन भर्नका निम्ति आवश्यक – युरोपमा पठाइएको छ । स्थिति थप तनावपूर्ण बन्दै जाँदा अन्तर्राष्ट्रिय समुदायले वार्ता र कूटनीतिक समाधानतर्फ आग्रह गरिरहेका छन् ।