दुई बुँदे सहमति चिसो र तातो पानी नभएर मनतातो पानी हो


-मनहरि तिमिल्सिना ।

भिजिट भिसा प्रकरणसम्बन्धी माओवादीले लिएको अडान, पछिल्लो सहमति र उठेका प्रश्नबारे केही कुरा भन्न मन लाग्योः (१) भिजिट भिसा प्रकरणको छानविन हुनुपथ्र्यो, छानविन हुनेछ। (२) पार्टीले संसदीय समितिको माग गरेको थियो, तर उच्चस्तरीय समिति गठनमा सहमति भएको छ। (३)समिति तत्काल गठन हुनुपथ्र्यो, तर १ महिना लाग्नेछ। (४) रास्वपा लगायतको विरोध जारी छ, त्यसप्रति हाम्रो कुनै पूर्वाग्रह छैन। (५) संसदमा माओवादी, रास्वपा, समाजवादी लगायत प्रतिपक्षमा छन्, सँगै हुनेछन्।
माओवादीले अडान छोडेको होइन, लचिलो भएको हो ।

त्यसका केही कारण छन्ः (१) माधव नेपालकाविरूद्ध अख्तियारमा मुद्दा दर्ता गरिएको छ, जबकी त्योभन्दा घातक र आर्थिक लाभ लिइएको गिरिबन्धु टि–स्टेट लगायतका काण्डबारे अख्तियार सुन्नसमेत चाहँदैन । (२) छ महिनाभित्र हुनुपर्ने संवैधानिक नियुक्तिसम्बन्धी फैसला अहिलेसम्म भएको छैन, असार १८ का लागि धकेलिएको छ। (३) न्यायाधीशहरूमाथि महाअभियोगसम्मको धम्कीको तरबार झुण्डाइएको आशंका छ, यो विषय गम्भीर छ। (४) असार १८ गतेलाई पनि धकेल्ने सत्ताधारी कोशिस जारी छ, संवैधानिक निकाय कब्जा गर्ने प्रपञ्च कमजोर भइसकेको छैन।

(५) विपक्षीमाथि एकपछि अर्को तरबार झुण्डाइएको छ, रवि लामिछाने, माधव नेपालहरू त्यसको थप शिकार हुनेछन्। (६) ओली सरकार व्यवस्थाकै संकटका रूपमा खडा हुँदैछ, त्यसको निकास जरूरी छ । त्यो निकास माओवादीले मात्र दिन सक्छ। (७) टिआरसीसम्बन्धी कानुन बनिसक्दा पनि आयोग गठनमा ढिलाइ गरिएको छ। संसद अवरोधको बहानामा अझै पछाडि धकेलिँदैछ। (८) पटकपटक संसद विघटन गर्ने नेता प्रधानमन्त्री छन् । गिर्दो छविबाट स्तब्ध उनी चाहन्छन्– फेरि संसद ढलाउन सकियोस्। (९) राजावादीको पत्रबारे रास्वपा मौन छ, संघीय गणतन्त्रबारे उसको कित्ता क्लियर हुन जरूरी छ। (१०) रास्वपा सांसदले गृहजिल्लामा राजावादीलाई भव्य स्वागत गरेकी छिन्, तर रास्वपा ‘चुँ’ बोल्दैन । यसले गम्भीर प्रश्न जन्माएको छ। (११) माओवादीले भिजिट भिसासँग अग्नि सापकोटा साट्नै पर्दैन, सर्वोच्चको फैसला छ– सापकोटाको मुद्दा हामी हेर्दैनौँ, संक्रमणकालीन न्यायले हेर्छ। (१२) देशको जनमत भन्छ– माओवादी २०८४ अघि सरकारमा जानु हुँदैन। पार्टी र नेतृत्वले त्यो जनमतको सम्मान गर्नुपर्छ। (१३) ओली सरकार ढलोस्, तर माओवादी सत्ताको चिढी नचढोस्, गुण र दोषका आधारमा समर्थन र विरोध गरोस् ।

यो सहमति चिसो र तातो पानी नभएर मनतातो पानी हो। जहाँसम्म सहमतिबारे सार्वजनिक आलोचना छ– त्यसलाई खुला हृदयले स्वागत गर्नुपर्दछ। त्यस्तो आलोचना माओवादी पनि कांग्रेस–एमाले गठबन्धनजस्तो प्रदूषित नहोस् भन्ने सकारात्मक आकांक्षाद्वारा प्रेरित छ ।