अब नागरिकले राज्यमा आफ्नो सर्वोच्चता खोज्नुपर्छ


-डा. युवराज संग्रौला ।

समाजको परिवर्तनको आफ्नो गति हुन्छ, र यो गतिलाई नै गौतम बुद्धले ‘अस्थायित्वको सिद्धान्त’ भनेको हो । बेग सुस्त होला, तर समाज पनि नदी जस्तै हो, जो लाग्न त एकै ठाउँमा छ जस्तो लाग्छ तर अघिदेखेको त गइसकेको हुन्छ । स्वस्फुर्त परिवर्तन कसैका लागि आउने होइन । यसले ‘विगत र आगत’ वा ‘उत्पत्ति र विलय’ का बीचमा पृथकता मात्र खिच्छ। यो पृथकतालाई परिवर्तनका नेतृत्व गर्नेहरुले समग्र मानिसको हितका लागि व्यवस्थापन गर्नुपर्छ । यसो भनेको ‘वर्तमान अवस्थालाई बदल्दै भविष्यलाई’ सुगम बनाउनु पर्छ। त्यसो गर्न वर्तमानमा रहेको ‘प्रणालीलाई’ फेर्नुपर्छ । त्यसो गर्न विचार चाहिन्छ । वि चार सिद्धान्त, कार्यक्रम र रणनीतिको योगका रुपमा रहन्छ।

विचार बिनाको परिवर्तन भनेको पानीका नाममा रित्तो बाल्टी फेरेजस्तो हो । यहीँ छ आजसम्म नेपालको राजनीति परिवर्तनको असफलताको कारण । परिवर्तनका नाममा केवल एउटा सत्ता ढालेर अर्को सत्ता निर्माण भयो । २००७ सालमा राणाशाही ढालेर, कांग्रेसको सरकार आउनुलाई क्रान्ति भनियो, २०१७ मा कांग्रेस ढालेर पंचायत आयो त्यो पनि परिवर्तन नै भनियो, २०४६ सालमा पंचायत ढालेर बहुदल आयो, २०६३ मा २०४६ को बहुदल ढालेर अर्को बहुदल आयो । तर विगत बदलिएन, नयाँ वर्तमान बनेन, र भविष्यको मार्ग नै बनेन । आज नेपालको परिवर्तनको रुप गुजमुटिएको धागोको डल्लो जस्तो भएको छ । यो धागोको डल्लो अनेक स्वार्थले बनेको छ। अतः अब, नागरिकले राज्यमा आफ्नो सर्वोच्चता खोज्नु पर्छ।

१. पटक पटट व्यवस्था फेरिए, तर संविधानले नेपालीको भविष्य प्रक्षेपण गर्न सकेनन् ।

२. परिणामस्वरुप, राज्य राष्ट्रको नेतृत्व गर्न समर्थ भएन । यही बिन्दुमा दलहरू मनोमानी गर्न थाले, र आज अपमानित भएका छन् ।

३. राज्यका संस्थाले कर्म गर्न सकेनन् ।

यस्तो अवस्थामा परिवर्तनका नाममा केवल रंङ्ग बदल्ने मानिसको जमात प्रकट हुन्छ र त्यसले अराजकता निर्माण गर्छ । दिगो परिवर्तनका लागि विचार चाहिन्छ, त्यसले

क. समाजको आर्थिक र समाजशास्त्रीय वर्ग विश्लेषण गर्छ ।

ख. हस्तक्षेपका प्राथमिकता निर्धारण गर्दछ।

ग. परिकल्पित समाजको खाका तयार पार्दछ, र

घ. त्यो प्राप्त गर्ने रणनीति तर्जुमा गर्दछ ।

अहिले राजनीतिमा यो सोचको कमी छ । सत्तासिनमा केवल पदका लागि व्यक्तिका बीचमा प्रतिस्पर्धा छ र सत्ता बाहिरकामा सत्ताप्राप्त गर्ने अतृप्त चाहना छ। उन्नयनका अर्थमा परिवर्तन ‘आम नागरिकको आवश्यकता हो।’ नागरिक सर्वोच्चताको खोजी नै जनताको चाहना हो ।