‘सामन्तको पो झोला बोक्न हुन्न, विचारको झोला बोक्न के को सङ्कोच !’


काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विचारको झोला बोक्न कुनै संकोच नभएको बताएका छन् । पार्टीले सुरु गरेको ‘म झोले हो’ अभियानको तस्बिर राख्दै ज्ञवालीले सामन्तको झोला बोक्न नहुने तर विचारको झोला बोक्न संकोच नमान्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘भनिन्छ–जहाँ तर्क सकिन्छ, त्यहीँबाट गाली–गलौज सुरू हुन्छ । अचेल सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको एउटा जमात इमान, निष्ठा र जनसेवाको राजनीति गरिरहेको पार्टी पङ्क्तिलाई निरुत्साहित गर्न गालीगलौजको अभियान नै चलाइरहेको छ । वंशवाद र जन्मजात श्रेष्ठताको सामन्ती मान्यता बोक्ने रैति बन्नुमा गर्व गर्ने तर प्रतिष्पर्धात्मक लोकतन्त्रका पक्षधरहरूलाई चाहिँ ‘झोले’ भन्दै खिसिट्युरी गर्ने उनीहरू चाहन्छन्– राजनीतिक कार्यकर्ताहरू, कुनै नेतालाई मन पराउने कलाकारहरू या नागरिकहरू ‘सेल्फ सेन्सर्ड’ बनून् र बोल्न छाडून् । यो दूषित मनशायलाई हुर्किन दिनुहुन्न । सामन्तको पो झोला बोक्न हुन्न, विचारको झोला बोक्न के को सङ्कोच !’

पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘म झोले हो’ भन्ने तस्बिर राखेर सामाजिक संजालमा शेयर गरेपछि अहिले एमालेका नेताहरुले पनि त्यस्तै तस्बिर राखेर शेयर गरिरहेका छन् ।