राजावादीको आन्दोलन र ओलीको निर्देशन


-ऋषि कट्टेल ।

कथित राजावादीको आन्दोलन र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी पंक्तिलाई कथित राजावादीको कथित आन्दोलनलाई परास्त गर्न निर्देशन दिए । स्मरणीय छ यसभन्दा अघिनै माओवादी अध्यक्ष दाहालले वाइसिएललाई यसप्रकारको निर्देशन दिइसकेका छन् । दाहालको निर्देशन अहिले ओलीको निर्देशनपछि ओझेलमा परेको छ । यसभन्दा अघि पनि प्रसाईंको आन्दोलनको दिन एमाले र माओवादी केन्द्रले पनि काउन्टर दिने गरी सोही दिन कार्यक्रम जुधाएका थिए । माओवादी केन्द्रले कार्यक्रम जुधाएको दिन हिंसात्मक बनेको थियो । यसलाई हिंसात्मक बनाउन एमालेको मुख्य र माओवादी केन्द्रको सहायक हात छ भन्ने जनस्तरमा चर्चा छ ।

सबै नेपाली जनतालाई थाहा छ राप्रपा नामको पार्टीको संरक्षक एमाले र माओवादी केन्द्र हो । एमालेले निर्वाचनमा तालमेलनै गरेको छ । कमल थापा, राजेन्द्र लिंगदेनहरुलाई उपप्रधानमन्त्रीसम्म बनाएका छन् । दाहालले यतिसम्म गरेका छन् आफ्नै पार्टीका मन्त्री हितराजलाई बर्खास्त गरेर कमल थापालाई उपप्रधानमन्त्री बनाएको दृष्टान्त छ । बरु काँग्रेसले आवश्यक दूरी कायम गरेको देखिन्छ । संविधानको निर्माता र गणतन्त्रको मसिहाको रुपमा आफूलाई प्रस्तुत गर्नेहरुको संविधान र गणतन्त्र विरोधीसँग सहकार्य गर्ने कुराले उनीहरुबीचको सम्वन्ध स्वतः पुष्टि हुन्छ ।

नेपालको कम्युनिष्ट आन्दोलनको लोकपृयताको दोहन गरेर सत्तासिन हुन पुगेका एमाले र माओवादी केन्द्र नांगिएका छन् । उनीहरुको जनविरोधी हर्कत सार्वजनिक भैरहेका छन् । क्रान्ति सम्पन्न भैसकेको भन्दै अटंकट सत्ताको रसास्वादनमा रम्ने रंगिन सपना बुनेर संसदवादमा पतन भएकाहरु सत्तावाट बाहिरिँदै छन् । सारतः अब उनीहरु मुद्दाविहीन भैसककेका र सत्ताविहीन हुने क्रममा छन् । जनताको विरोधको तारो बनेका छन् ।

ठिक यहीबेला यिनीहरुको मित्र पार्टी राप्रपा राजतन्त्रको मुद्दा उठाउन लागेको छ र यिनीहरु यसलाई उत्तेजित बनाउन लागिरहेका छन् र राजतन्त्र र गणतन्त्रमा जनतालाई विभाजित गरेर आफूहरु गणतन्त्रको मसिहाको रुपमा प्रस्तुत हुने जमर्को गर्दैछन् । जहाँसम्म ओलीको अभिव्यक्तिले हिंसालाई बढावा दियो भन्ने भनाई हो राजतन्त्रको स्थापना भनेको नै हिंसाको घोषण हो । किनकी नेपालमा चलिरहेको सशस्त्र युद्धको अन्त्य राजतन्त्रको कारण मात्र सम्भव भएको हो । त्यसकारण राजतन्त्र आउनु भनेको देश फेरि नयाँ प्रकारको हिसात्मक संघर्षमा प्रवेश हुनु हो ।