‘भिजिट भिसा’ प्रकरणले कांग्रेसमा लफडा


काठमाडौँ । भिजिट भिसा प्रकरणलाई लिएर नेपाली कांग्रेसका नेताहरुबीच आरोप प्रत्यारोप चलेको छ ।

कुनै नेताले गृहमन्त्रीको राजीनामा मागेका छन् भने कसैले गृहमन्त्रीको राजीनामा मागेको भन्दै राजीनामा माग्नेमाथि कारबाहीको मागसमेत गरेका छन् ।

कांग्रेस नेता डा. शेखर कोइराला, राजेन्द्र बजगाईं, सुनिल शर्मालगायतले गृहमन्त्रीको राजीनामा मागेका थिए भने कृष्ण सिटौलाले गृहमन्त्रीको पक्ष लिएका थिए ।

सोमबार बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको निष्कर्ष निकालेको थियो । बैठकमा केही नेताले गृहमन्त्रीको राजीनामा माग्ने नेताहरुलाई कारबाही गर्नुपर्नेसमेत बताएका थिए ।

शशांक कोइरालाले गृहमन्त्रीको राजीनामा माग्नेमाथि स्पष्टीकरण सोध्नुपर्ने बताएका थिए । आफूमाथि कारबाहीको माग गरेको भन्दै नेता राजेन्द्र बजगाईंले शशांकलाई उपहारको विषयमा प्रश्न उठाउन नपरोस् भन्दै चेतावनी दिएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘मलाई एसयूभी उपहारहरू (एउटा किआ, दुई महिन्द्रा), सुनको रोलेक्स, नगदले भरिएको डफल झोला, तथाकथित ‘घरको मर्मतसम्भार’, वा राजनीतिक पदहरूको लेनदेनमाथि प्रश्न उठाउनु नपरोस् भन्ने कामना गर्दछु ! तपाईंलाई अनिवार्य रूपमा स्पष्टीकरण सोधिनेछ ।’