काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार मध्यान्ह भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सोमबार प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता हुने तय भएपनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण भेट भएको थिएन ।
आजको भेट गभर्नर नियुक्तिमा केन्द्रित रहेको बताइएको छ । गभर्नर नियुक्तिको विषयले सत्ता गठबन्धनमा सकस भइरहेको खबर बाहिर आइरहेका छन् । कहिले गभर्नर छनोट सिफारिस समितिका सदस्यले राजीनामा दिने त कहिले गभर्नरका लागि अघि सारेका व्यक्तिका कारण गभर्नर नियुक्त हुन सकेको छैन ।
गभर्नर कांग्रेसको भागमा परेको बताइएको छ । सुरुमा कांग्रेसले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई अघि सारेकामा उनको राजीनामा कामुगभर्नर नीलम ढुंगानाले स्वीकृत नगरेपछि अहिले डा. विश्व पौडेलको नाम चर्चामा छ ।
तर गभर्नर सिफारिस समितिको बैठक समेत एक पटक बस्न सकेको छैन । त्यस्तै पौडेलकाविरुद्धमा पनि मुद्दा परेको छ ।
नयाँ गभर्नर नियुक्तिका लागि रिक्त हुनु भन्दा एक महिनाअघि नै गर्नुपर्ने व्यवस्था भएपनि रिक्त भएको एक महिना भन्दाबढी भइसकेको छ । विचौलियाका कारण सरकार गभर्नर नियुक्त गर्न नसकेको भन्दै सदनमा समेत कांग्रेस र एमालेको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया