विराटनगर । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रविरुद्धका कुनै पनि गतिविधिमा सरकारले सम्झौता नगर्न स्पष्ट पारेका छन् ।
बुधबार विराटनगरमा कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले लोकतन्त्रको मूल्य, मान्यता र शान्ति सुरक्षासँग सम्झौता गर्न नसकिने बताएका हुन् ।
उनले लोकतन्त्र अनुशासनको पद्धति भएकाले अराजक गतिविधि सैह्य नहुने चेतावनी दिए । उनले भने, ‘कानुन कार्यान्वयन गर्नु हाम्रो जिम्मेवारी हो। शान्ति सुरक्षा हुँदा मात्रै देश विकास र आर्थिक सबलीकरण सम्भव हुन्छ।’
उनले लोकतन्त्रमा अब वंश, हैसियत वा नाताले नहुने बताए । उनले भने, ‘प्रमुख जिल्ला अधिकारीको छोरा प्रमुख जिल्ला अधिकारी हुने भए त्यो के गणतन्त्र भयो त ? जनमत वा क्षमता, यी दुई आधारबिना सार्वजनिक पदमा पुग्न सकिन्न।’
उनले ’लागुऔषध, सवारी दुर्घटना र आत्महत्याजस्ता घटनाले गम्भीर चुनौती खडा गरिरहेको भन्दै यो सामान्य कुरा नभएको बताए ।
गृहमन्त्रीले कोशी प्रदेशको सीमा क्षेत्रमा बढ्दो तस्करीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्बन्धित सुरक्षा निकायलाई कडा निर्देशन दिए ।

प्रतिक्रिया