यो नै भारतको दीर्घकालिन विपन्नताको एउटा कारक भयो


-डा. विश्व पौडेल

केहीअघि सिंगापुर एयरलाइन्समा जापान जान लागेका यात्रुहरुको प्रतिक्षा कक्षमा झुप्प हिरा लगाएका पचास वर्ष हाराहारीका महिलाहरु देखें । ति उजेलो भएर बलेका थिए । नयाँदिल्ली जाने प्रतिक्षा कक्षमा भएका भारीिय महिलाहरु कमैले हिराका गहना लगाएका थिए। ति अलिअलि कम उज्याला, अलि विपन्न देखिन्थे ।

स्थिति सधैं यस्तो थिएन । लेखकहरु विलियम डालरिम्पल र अनिता आनन्दका अनुसार विसं १७८३ मा ब्राजिलमा हिरा खानी पत्ता लाग्नु अघि संसारभरी भारतमा मात्र हिरा पाइन्थ्यो । भारतका नवाबहरुको पेन्टिङमा ति कोल्लुरका हिरा, बर्माका रुबिले भरिएका देखिन्छन् । त्यहीबेलाका युरोपका राजाहरुको पेन्टिङमा त्यस्तो कमै देखिन्छ ।

विसं १९०६ को वैशाखतिर चुनारको किल्लामा थुनेर राखेकी एक पंजाबी महारानी जिन्दन कौर भागेर काठमाण्डु आइन् । उनी कोहिनुर हिराको मालिक्नी थिइन् । उनको हिरा र उनको एक मात्र छोरा दिलिप सिंह भने इस्ट इन्डिया कम्पनीको कब्जामा पुगिसकेका थिए । अर्कोवर्ष जब जंगबहादुर लण्डन पुगे, उनी पुगेको एक महिनापछि कोहिनुर पनि विशेष पानीजहाजमा बेलायत पुगेको थियो । जंगबहादुरका गहना र कोहिनूर दुबै त्यो बेला लण्डनका आकर्षणका केन्द्र भए ।

विसं १७९६ मा नादिर शाहले दिल्ली आक्रमण गरेर लुटेको भारतको अर्को प्रख्यात हिरा, दरिया–ए–नूर, अहिले इरानमै छ । भारतमा काम गर्न आएको एक फ्रेन्चले चोरेर युरोप पुर्याएको अर्को भारतीय हिरा, ओर्लोव हिरा, अहिले रुसको सवैभन्दा प्रख्यात हिराको रुपमा क्रेमलिनमा छ ।

भारतमा हिराको इतिहासले के देखाउँछ भने आफ्नो देशमा भएका वहुमुल्य रत्न प्रयोग गर्न नजान्नाले पनि भारत कमजोर भएको थियो । हिरा, रुबिहरु विदेशलाई वेचेर, विदेशी हतियारहरु किनेर मुलुकको राम्रो सुरक्षा गर्न सकेका भए भारतीय राज्यहरुमा विदेशीहरुले आक्रमण गर्न सक्दैनथे । तर भारतका राजा तथा जनता गाँजा, अफिमको लतमा लागेर हिरा, रुबिको प्रयोग गर्न नसक्ने भए । यो नै भारतको दीर्घकालिन विपन्नताको एउटा कारक भयो ।