-रञ्जिता श्रेष्ठ ।
आज हामी मधेश र सुदूरपश्चिमका पीडित, आवाजविहीन र वञ्चित जनताको सपना बोकेर अगाडि बढ्दैछौं । भोलि, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा केवल दुई दलको मिलन मात्र होइन, यो हाम्रो साझा पीडामा उब्जिएको आशाको काँध मिलाउने ऐतिहासिक क्षण हो । हामीले थुप्रै चोट खाएका छौं, अन्याय सहनुपरेको छ । तर आज हामी घोषणा गर्न चाहन्छौं—अब हाम्रो आवाज फुट्ने छैन, फुटाउने खेलहरूमाथि अन्त्यको आवाज बजेको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतज्यूजस्तो विद्वान, बौद्धिक र दूरदर्शी नेतृत्वसँग सहकार्य गर्नु, हाम्रो साझा आन्दोलनको शक्ति र स्थायीत्वको आधार बन्नेछ भन्ने हामीलाई पूर्ण विश्वास छ । उहाँप्रतिको हाम्रो आस्था र सम्मान अडिग छ, र हामी उहाँको मार्गदर्शनमा जनताको पक्षमा निष्कलंक रूपमा काम गर्न तत्पर छौं ।
म नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुँ, तर यो एकताको निम्ति म सह–अध्यक्ष बन्न राजी भएकी छु । पदभन्दा ठूलो हो—जनताको भरोसा, बलिदानी र हामीले दिएका वाचा । यो निर्णयले केही साथीहरूलाई भावनात्मक रूपमा असर पर्न सक्छ, तर म हार्दिक अनुरोध गर्न चाहन्छु—हामी एक हौं, हाम्रो साझा बाटो अब एउटै छ । एकतापछि हामी सबैलाई पार्टीको नीति, विधि र अनुशासनमा बाँधिएर अघि बढ्नुपर्नेछ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, संस्थागत हित र जनताको पक्षमा काम गर्न अब हामी सबै बाध्य छौं ।
यो एकता सुदूरपश्चिमको पहाडदेखि मधेशको तराईसम्मको जनताको आँखामा उज्यालो झल्काउने प्रयत्न हो । अब हाम्रो संघर्ष एउटै नाममा हुनेछ—जनता, न्याय र समताको निम्ति । हाम्रो एकताको सन्देश देशभरि फैलियोस् । हामी फुट्ने छैनौं, झुक्ने छैनौं, किनभने हामी अब एउटा सपनाको लागि एक भएका छौं ।
जय नागरिक ।

प्रतिक्रिया