काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानबाट पार्टी कार्यालय हटाउन माग गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष साहले सरकारी बजेटले बनेको प्रतिष्ठानमा पार्टीको कार्यालय राख्नु गलत भएको बताए ।
तुलसीलाल सबैका आदरणीय नेता भएको भन्दै अध्यक्ष साहले त्यस्तो नेताको नाममा प्रतिष्ठान खोल्ने, सरकारबाट आर्थिक सहायता लिएर भवन बनाउने र एउटा दललाई प्रयोग गर्न दिने आपत्तिजनक भएको बताए ।
उनले भने, ‘म सोध्न चाहन्छु तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक संस्था हो ? यदि सामाजिक संस्था हो भने जुसको लाइसेन्स लिएर मदिराको व्यापार गर्न मिल्छ कि मिल्दैन ? आज प्रतिष्ठानहरु नेताको लुट्ने भाँडो भएको छ । पुष्पलाल र मदन भण्डारी भएको भए यसरी सामाजिक संस्था कब्जा गर्ने थिएनन् । तुलसीलाल स्मृति प्रतिष्ठानका पदाधिकारीलाई कानुन थाहा छैन भने थाहा दिनुपर्यो, नभए खारेज गर्नुपर्यो ।’
उनले तुलसीलाल स्मृति प्रतिष्ठान व्यापारिक संस्था भए एमालेले भन्दा आफ्नो पार्टी धेरै भाडा दिन तयार रहेको बताए । उनले लाखौं कार्यकर्ता भएको पार्टीले आफ्नै पौरखमा पार्टी कार्यालय बनाउन सुझाव दिए ।

प्रतिक्रिया