-युगनाथ शर्मा पौडेल
अप्रिय भविष्यवाणी गरिरहेको यो दृश्य । रवीन्द्र मिश्र, राप्रपाका वरिष्ठ उपाध्यक्ष, पूर्व प्रतिष्ठित पत्रकार तथा बेलायती सञ्चार संस्था बीबीसीका अनुभवीकर्मी – आज आफैं वाणीको मूल्य चुकाइरहेका छन् । अभिव्यक्तिको शक्ति र त्यसका परिणामबारे गहिरो समझ भएका मिश्र अहिले १५ चैतको तीनकुने घटनामा संलग्न रहेको आरोपमा राज्यद्वारा अनुसन्धानको घेरामा छन् । दोषी भए न्यायालयबाट उचित फैसला हुनेछ निर्दोष भए उनले मुक्ति पाउने छन् । त्यो न्याय प्रणालीको क्षेत्राधिकारमा पर्छ ।
तर, केवल बोलीकै आधारमा उनलाई निरन्तर हत्कडीमा झुण्ड्याउनु, अपराधी जस्तै व्यवहार गर्नु, लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रत्यक्ष आघात जस्तै देखिन्छ । यो पूर्वाग्रही र प्रतिशोध प्रेरित कार्य हो, जसले हाम्रो लोकतन्त्रको सौन्दर्यतामा अप्रिय भविष्यको संकेत गरिरहेको छ । अझ दुःखद पक्ष त के भने, यस्तो दुःखद अवस्थामाथि तथाकथित मानव अधिकारवादी समाज’ हत्कडी प्रहसनमा’ मौन देखिन्छ ।
कुनै समय लोकतन्त्रका लागि घाँटीदेखि खुट्टासम्म फलामे नेलमा बाँधिएका योद्धाहरूले शासन सम्हालेपछिको आजको नेपालमा मिश्रको स्वतन्त्र अभिव्यक्तिलाई लिएर एउटा पूर्वपत्रकारमाथि यति कठोर दण्डको परिकल्पना पनि गर्न सकिँदैनथ्यो हाम्रो लोकतन्त्रमा । अत्याचार जहाँ भएपनि त्यो न्यायको पक्षधरलाई चुनौती हो त्यसको विरोध आवश्यक हुन्छ —अति सर्वत्र वर्जयत ।
हिजोको दिनमा मानवअधिकारको रक्षाको लागि ठूला ठूला आवाज उठाउनेहरू, मुक्तिनाथ सरलाई माओवादीहरूले जीउँदै सुलीमा चढाएको घटनापछि बेपत्ता झैं भएका छन् । सायद उनीहरू बेइजिङ तिर ह्वाङ हो नदीको किनारमा हराएजस्तो देखिन्छन् । यस्तो परिस्थितिमा अमेरिकी सिभिल राइट्स आन्दोलनका महान् अभियानकर्ताले भनेको उक्ति– ‘One injustice anywhere is a threat to justice everywhere’– आज पुनः सत्य साबित भइरहेको छ। लोकतन्त्रबादी हरेक नागरिकले यस स्थितिलाई गम्भीरतापूर्वक लिनु जरुरी छ। हिजो गणेशमानलाई हत्कडी लगाउनु जसरी बेठिक थियो आज रविन्द्र मिश्रलाई हतकडी लगाउनु पनि त्यसरी नै बेठिक हो । अति सर्वत्र वज्र्यत।

प्रतिक्रिया