लुटतन्त्र र निरङ्कुशता अन्त्यका लागि राष्ट्रवादी शक्ति एकठाउँमा उभिनुपर्छः अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लुटतन्त्र र निरङ्कुशता हावी भइरहेको भन्दै त्यसको अन्त्यका लागि राप्रपाबाहेक कुनै विकल्प नरहेको दाबी गरेका छन् ।
सोमबार राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अहिले सिंगो देशले राप्रपालाई आशाको नजरले हेरिराखेको बताए ।
उनले सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एक ठाउँ बसेर अगाडि बढ्न राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार रहेको बताए ।
उनले भने,‘अहिले सिंगो देशले हामीलाई आशाको नजरले हेरिराखेको छ । त्यसकारण सबै देशभक्ति साथीलाई आग्रह गर्न चाहन्छु । सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एक ठाउँ बसेर अगाडि बसौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार छ ।’
उनले मुलुकको अस्मिता रक्षाका लागि देशका सबै देशभक्त र राष्ट्रवादी शक्तिहरु एकठाउँमा आउन आवश्यक रहेको बताए । लोकतन्त्र र मानव अधिकारका कुरा गर्नेहरुले चैत्र १५ गते लोकतन्त्र र मानव अधिकारको खिल्ली उडाएको बताए ।