शिक्षक आन्दोलनमा दमन नगरी वार्ताबाट माग सम्बोधन गर्न सरकारलाई सांसदहरुको आग्रह
काठमाडौं । सांसदहरुले शान्तिपूर्ण रुपमा आन्दोलनमा बसिरहेका शिक्षकहरुमाथि सरकारले दमन गरेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारले शिक्षक आन्दोलनमा दमन गर्नुको साटो माग पूरा गर्नेतर्फ ध्याद दिन आग्रह गरेका हुन् । बैठकमा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण रुपमा आन्दोलनमा बसिरहेका शिक्षकहरुमाथि सरकारले दमन गरेको बताए ।
उनले भने, ‘शान्तिपूर्ण रुपमा बसिरहेका शिक्षकहरुमाथि पानीको फोहोरा, अश्रुग्यास, लाठी प्रहार गरेर दर्जनौं शिक्षकहरु घाइते हुनुभएको छ । पत्रकार सविना कार्की गम्भीर घाइते हुनुभएको छ । यस्तो अवस्था किन सिर्जना भैइरहेको छ ? सरकारले शिक्षकहरुका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ ?’
उनले शिक्षकहरुका मागलाई सम्बोधन गरेर जायज मागहरुलाई पुरा गरेर जानुको सट्टा सरकार मुकदर्शक बनिरहेको बताए ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले राज्य अधिनायकवादर्फ अघि बढेको टिप्पणी गरिन् । उनले आइतबार शिक्षकमाथि राज्यले दमन गरेको भन्दै आपत्ति जनाइन् ।
उनले भनिन्, ‘शिक्षकमाथि राज्यले दमन गर्यो । राज्य अधिनायकवादतर्फ हिँडिरहेको भान भएको छ ।’ सांसद श्रेष्ठले शिक्षकलाई दलको सदस्यता नत्यागे दास बन्ने बताइन् । उनले भनिन्, ‘तपाईंहरू जबसम्म नेपाली जनता मात्रै भएर बस्नुहुन्छ, सिंगो मुलुकको बन्नुहुुन्छ । जब राजनीतिक दल, राजनीतिक दलको सदस्यता लिएर कार्यकर्ता बन्नुहुन्छ, नेताको उठबस भन्ने किसिमको दास बन्नुहुन्छ ।’
राप्रपाकी सांसद रोशन कार्कीले शिक्षक आन्दोलनमा घुसपैठ गराएर सरकारले दमन गरेको आरोप लगाइन् । उनले शिक्षा ऐन पारित गर्दै शिक्षकहरूलाई पठनपाठन गर्ने वातावरण बनाउन माग गरिन् । त्यस्तै सांसदहरूले घाइतेहरूको उपचारको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएका थिए ।