प्रधानमन्त्रीले आफ्नो नाकको झिङ्गा धपाउन खटाउनु भएका ‘बाँदरहरु’लाई राम्ररी चिन्ने बेला घड्किँदै गएको छ
-सुवोधराज प्याकुरेल ।
सम्पूर्ण क्षेत्र नैतिकता, दार्शनिकता, सिर्जनात्मकता र समन्वयको खडेरीले गर्दा अन्यौलग्रस्त छ । भा’नभा कथा रचेर जनता रनभुल्लमा छन् । भर्खर ९ महिना पुगेको संयुक्त सरकारको थाप्लामा मुलुक बनेदेखिका सबै अपयश घोप्ट्याइएको छ । अनि सरकारका अगुवाहरु के गर्दैछन् ? सबै उपलब्धि मैले गर्ने हो, सारा समाधान मैले गर्ने हो भन्दै छूचो ढङ्गले जाइ लाग्दैछन् । तर्कको सट्टा ओठे जवाफ चुलिएको छ । चाटुकार बिचौलियाको बिगबिगी खपिनसक्नु बढेको छ । ठूलाहरुलाई आफू सर्वज्ञ भएको दम्भ छ । अहिले पनि शिक्षकको नेतृत्वमा पञ्चायतकाल देखिका संघर्षशील व्यक्तिहरु हुनुहुन्छ । दलका अनेक जनवर्गीय संगठन छन् । इञ्चार्ज सहइञ्चार्ज विभागहरु छन् । ५–६ वर्षदेखिको कचल्टिएको समस्याको बारेमा पार्टीको दृष्टिकोण छ । श्रद्धेय सम्माननीय+++ अध्यक्षको अभिव्यक्ति छ । अनि जिम्मेवारी कसको ? तत्कालै मन्त्रीलाई आरोपित गर्दै फेसबुकमा लेखिहाल्ने अधिकार तथाकथित तन्नेरीका नेताले कहाँबाट पाए ? कि सात–खत माफवाला पंक्ति छ एमालेमा ?
एक होइन अनेक पक्षमा दिनपरदिन किन ओरालो लागेको ? बुद्धिजीवी, पेशाकर्मी, कर्मचारी, किसान, मजदुर, कुन क्षेत्रमा छ फैलावट ? अझै आत्ममिमांसा नगर्ने ? यथार्थ बताउँदा सर्लक्कै सम्झिने क्षेत्रलाई समेत दोहोलो काढ्दै परपर पार्ने अनि दोष चाहिँ मन्त्रीको टाउकामा हाल्ने जे जस्ता हुल्याहा प्रपञ्च रचिँदैछ, त्यो आत्मघाती हुनेछ । प्रधानमन्त्रीले आफ्नो नाकको झिङ्गा धपाउन खटाउनु भएका बाँदरहरुलाई राम्ररी चिन्ने बेला घड्किँदै गएको छ ।