डा. सूर्यराज आचार्य ।
शायद सन् १९९९ तिर होला, टोकियोको युएन युनिभर्सिटीमा १९९० को दशकको ‘एशियन क्राइसिस र एशियाको सम्भावना’ विषयक एक सिम्पोजियम आयोजना गरिएको थियो । मुख्य वक्ताहरूमा मलेसियाका प्रधानमन्त्री डा. महाथिर मोहम्मद, चीनका प्रधानमन्त्री झु रोङ्झी, र अमेरिकी अर्थशास्त्री (२००८ का नोबेल पुरस्कार विजेता) पाउल क्रुग्म्यान थिए ।
डा. महाथिर र झु रोङ्झीले एक–एक घण्टा बोल्दै आर्थिक व्यवस्थापनका चुनौती, आफ्ना अनुभवहरू र आफैंले लिएका महत्वपूर्ण निर्णयहरूको चर्चा गरे । शैक्षिक पृष्ठभूमिको हिसाबले डा. महाथिर मेडिकल डाक्टर थिए भने झु इलेक्ट्रिकल इन्जिनियर । तर उनीहरूको प्रवचन कुशल प्राध्यापकको विश्वविद्यालयको म्याक्रोइकोनोमिक्स कक्षा जस्तै लाग्थ्यो ।
पाउल क्रुग्म्यानले आफ्नो पालोमा रमाइलो शैलीमा गम्भीर कुरा उठाउँदै प्रवचन सुरु गरेः ‘हरेक वर्ष नोबेल पुरस्कारको सिजन आउँदा शुभचिन्तकहरूबाट मैले ‘फोस्रो’ अग्रिम बधाई पाउने गरेको छु । तर आज यहाँका एशियाका दुई हस्ती पूर्ववक्ताहरूको प्रवचन सुनेपछि मलाई लाग्यो, अर्थशास्त्रको नोबेल पुरस्कारको लागि मभन्दा पनि उहाँहरू बढी योग्य हुनुहुन्छ।’
साँचिकै भन्नुपर्दा, औपचारिक रूपमा अर्थशास्त्रको शैक्षिक डिग्री नभए पनि महाथिर र झु रोङ्झीको अर्थशास्त्रको बुझाई र आ–आफ्नो देशको आर्थिक व्यवस्थापनमा पुर्याएको योगदान उच्चकोटीको थियो ।
सरकारको उच्च तहमा काम गर्ने नेताहरू विषयवस्तुमा जानकार र दखलयुक्त हुँदा शासन सञ्चालनको प्रभावकारिता कसरी बढ्छ भन्ने कुरा यी दुई राजनेताको उदाहरणबाट स्पष्ट हुन्छ ।

प्रतिक्रिया