भरतपुर । नेकपा एमाले र नेकपा माओवादीबीच यतिबेला तिक्तता बढेको छ । एमाले माओवादीको गठबन्धन टुटेर एमाले कांग्रेसको गठबन्धन बनेपछि एमाले र माओवादीका नेता कार्यकर्ताबीच आरोप प्रत्यारोप चलिरहेको छ । एकले अर्कोलाई खुइल्याउन नेता कार्यकर्ता लागिपरेका छन् ।
सामाजिक संजालमा होस् वा कुनै सभा समारोहमा एकले अर्काको आलोचना गरिहाल्छन् । तर शुक्रबार भरतपुरमा फरक दृष्य देखियो । भरतपुर महानगरपालिकामा निर्मित ६ लेनको सडक उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भरतपुरकी मेयर रेनु दाहालबीच भने फरक दृष्य देखियो ।
त्यहाँ न कुनै रिस राग न वैमनश्यता । थियो त केबल हार्दिकता । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न मेयर दाहाल भरतपुर विमानस्थलमै पुगेकी थिइन् ।
प्रधानमन्त्री जहाजबाट उर्लिँदै गर्दा फुलगुच्छा लिएर लाइनमा उभिएकी मेयर दाहाललाई ओलीले पनि उनीप्रति हार्दिकता नै दर्शाए । मेयर दाहालको हातबाट फुलगुच्छा लिँदै गर्दा ओलीले ‘छोरी सञ्चै छौं ?’ भनेर सोधेका थिए । रेनुले पनि मुस्कुराउँदै मुन्टो हल्लाएकी थिइन् ।
त्यस्तै शिलालेखको अनावरण गर्ने क्रममा प्रधानमन्त्रीले मेयर दाहाललाई कपडाको डोरी तान्न दिएका थिए भने सडक उद्घाटनका क्रममा रिवन काट्न पनि मेयर दाहाललाई नै अघि सारेका थिए ।


प्रतिक्रिया