शिक्षकहरुलाई आन्दोलन अन्त्य गरी विद्यालय फर्कन सरकारको आह्वान, बजेट अधिवेशन वैशाख १२ मा बोलाउन सिफारिस
काठमाडौं । सरकारले वैशाख १२ गते बस्ने गरी बजेटको अधिवेशन आह्वान गर्न निर्णय गरेको छ । मंगलबार राति बसेको मन्त्रिपरिषद बैठकले वैशाख १२ गते बस्ने गरी संसदको बजेट अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले शिक्षकहरुसँग वार्ता र संवाद जारी राख्ने निर्णय गर्दै एसईईको उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिएर शिक्षकहरुलाई आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान गरेको छ ।
शिक्षामन्त्री विद्या भट्टराईले सरकार शिक्षकहरुको मागप्रति गम्भीर रहेको बताउँदै विद्यालय फर्किन आह्वान गरिएको बताइन् ।
मन्त्री भट्टराईले भनिन्, ‘नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको छ । यथोचित मागको सम्बोधन गर्न सरकार तयार छ । नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । हाल विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गर्ने बैठकले निर्णय गरेको छ ।’
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।