सरकारको विकल्प खोजिएको त होइन, तर सरकार ट्याक्टरको गतिमा गयोः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको गति ट्याक्टरको जस्तो भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
मंगलबार बौद्धिक पेसाकर्मी अभियान परिषद्ले काठमाडौंमा आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा महामन्त्री थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले भने, ‘अहिले मानिसले दैनिक परिवर्तन खोज्छ । तर सरकारको गति नै भएन । सरकार ट्याक्टरको गतिमा गयो । एमालेसँग मिलेर सरकारमा गएपछि सरकारमा पनि तुरुन्त काम गर्न सक्छौँ भनेको थिएँ, तर भएन ।’
उनले अहिले सरकारको विकल्प नखोजिएको भन्दै गतिका सम्बन्धमा व्यापक असन्तुष्टि रहेको बताए । महामन्त्री थापाले आफूहरु सरकारलाई सहयोग गरेर परिणाम दिनुपर्ने पक्षमा रहेको बताए । उनले सरकारले काम गर्न नसक्दा पार्टीको तल्लो तहको समर्थकमा पनि निराशा छाउने अवस्था आएको बताए ।