सरकार परिवर्तनको कुरा भ्रम सिर्जना गर्ने कोसिस मात्र होः एमाले
काठमाडौं । नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्ति सरकार छाड्नुपर्दाको पीडाबोध भएको बताएको छ ।
सोमबार बसेको सचिवालय बैठकले प्रचण्डले दिएको अभिव्यक्ति खारेज गर्दै असान्दर्भिक भएको निष्कर्ष निकालेको हो । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डको अभिव्यक्ति भ्रम सिर्जना कोसिस भएको बताए ।
उनले भने, ‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ । यो सरकार बाहिर हुँदाको एक खालको कुण्ठा र पीडाबोध हो । राष्ट्रिय राजनीतिको अरु यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरामात्र गर्नु भनेको सत्तामोह बाहेक अरु केही पनि होइन । त्यसले भ्रम सिर्जना गर्ने कोसिस भएको छ त्यसलाई हामीले खण्डन गरेका छौं ।’
त्यस्तै बैठकमा पार्टीको आन्तरिक जीवनसँग र केही राष्ट्रिय राजनीतिसँग जोडिएका विषयहरुमा छलफल भएको उनले बताए । बैठकले बैसाख ९ गते आफ्नो पार्टी स्थापनाका दिन सात जनालाई यो वर्षको कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।
यसवर्ष लालबहादुर विश्वकर्मा कञ्चनपुर, रत्नशर्मा न्यौपाने जाजरकोट, शोभाराम बस्नेत दाङ, बाचस्पति देवकोटा गोरखा, शान्ता मानवी काठमाडौं, सत्यनारायण मण्डल सप्तरी र हरिचरण सिवाकोटी झापालाई कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय भएको उनले बताए ।