मेरो तीतो शुभकामना !
-डा. गोविन्दशरण उपाध्याय ।
राजनैतिक, शैक्षिक, औद्योगिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक उन्नयनको शुभकामना दिंदादिंदै धेरै वर्ष चरम निराशामा वितिसके । राजतन्त्र अन्त्य भएको घोषणा गरेको दिन जन्मिएका बालबालिकाहरू १८ वर्षे (भोट हाल्न पाउने) लक्का जवान भैसके । देशमा सुशासन ल्याउँछौँ भने २०४७ वाट आजकी मितिसम्म सरकारको नेतृत्व गर्दै आएका नेताहरू हजुरवा भैसके तर ‘हामी नेपाललाई उन्नत बनाउछौं’ भन्न छोडेका छैनन् तर देशको उन्नयनको लागि सिण्डिकेटहरू पालेर आत्मरति वाहेक केही गरेको अनुभूति हुँदैन ।
नेपाली जनता होस् वा नेता सबैले चाहेको नेपालको उन्नयन नै हो । नेपाली जनतालाई राजतन्त्र, लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र जे भए पनि हुन्छ । नेपाली जनताको सानो आशा भनेकै सुशासन, उन्नयन र एकआपसी सहृदयता हो । सुशासन र उन्नयनको प्रत्याभूति नगरेकै कारण राजतन्त्रको अन्त्य भएको हो । लोकतन्त्र वा गणतन्त्र नै सबैभन्दा उत्तम व्यबस्था हो भनेर नेता र तिनका सिण्डिकेटहरूले चिच्याउँदैमा ‘डेलिभर दिन नसक्ने’ लोकतन्त्रको मृत्यु रोकिन्न बरू यसको मृत्यु हुँदा राजतन्त्रको अन्त्य हुनुभन्दा धेरै रगतको मांग गर्ने छ । नेताहरूले यो तत्थ्य बुझ्न सके नयाँ वर्षहरू परिणाममुखी हुने छन् । आजसम्मको इतिहास हेर्दा यी सात दशक पूर्ण गरेका नेता र तिनका विनम्र सिण्डिकेटहरूले सत्य स्वीकार गरेर उन्नयनको बाटोतिर प्रस्थान गर्छन् जस्तो लाग्दैन । भाषणका बाघहरूले उन्नयनको लागि सिन्को भाँचे धेरै राम्रो हुन्थ्यो !
मलाई लाग्छ, २०८२ को वर्ष पनि नेपालीहरूका लागि निराशाकै वर्ष हुने छ । चरमनिराशावादी नभन्नु होला तर विदेशी आइएन्जिओ, विदेशी वाद र विदेशी बुद्धिले सिकाएको विकासको राजनैतिक मोडेल नेपाललाई फापेन । राजनीतिक राजनैतिक आस्थालाई भोटको बाकससम्म सीमित राख्ने संकल्प गरेर जवसम्म यो देशका शिक्षक, कर्मचारी, व्यवसायी, अर्थशास्त्री, वकिल, प्राध्यापक, चिकित्सक र विज्ञहरू अगाडी बढ्दैनन्, नेपालको उन्नयन असम्भव छ । जवसम्म विज्ञहरूले सत्यको पक्ष लिंदैनन् तवसम्म नेपालको उन्नयन हुँदैन । राजनैतिक नेताको स्वार्थमा परिचालित हुने बुद्धिजीविनै देशको उन्नयनका लागि अवरोध हुने छन् । राजनैतिक दलको नेतृत्वले उपर्युक्त वर्गलाई आफ्नो ‘शक्तिको स्रोत’ ठान्दै संचालन गर्ने प्रथा त्याग्दैनन् तवसम्म हामीले एकआपसमा प्रकट गर्ने शुभकामना र नेताहरूको चटके भाषणमा केही फरक हुँदैन ।
वि.स. २०८२ मा न नेताता वदलिने छन् न जनता नै । तेसैले सम्पूर्ण नेपाली जनताहरू अर्को निराशापूर्ण वर्षको स्वागत गर्दैछौँ । स्वागतको शब्दजाल होइन सत्य मैले लेखेजस्तो नहोस् । म चाहन्छु, यो वर्ष राजनैतिक नेतृत्वलाई गालीगलौज गर्ने तर तिनैको सेवक सेवक बनेर भोट हाल्न लाइन लाग्ने वर्षको रुपमा व्यतित नहोस् ।