संसदीय समितिमा गृहमन्त्रीः मान्छेलाई घरभित्र थुनेर आगो लगाइएको छ, यसरी हिन्दूराष्ट्र आउँछ ?
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मान्छेलाई घरभित्रै आगो लगाएर हिन्दूराष्ट्रको परिकल्पना गर्न नसकिने बताएका छन् ।
शुक्रबार बसेको संसदको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले मान्छेलाई घरभित्र राखेर आगो लगाएर हिन्दुराष्ट्रको परिकल्पना नगर्न बताएका हुन् । उनले तिनकुनेको हिंसात्मक प्रदर्शन व्यवस्था मास्ने प्रयासले गरिएको बताए ।
उनले भने, ‘मान्छेलाई घरभित्र आगो लगाएर मारिएको छ । मान्छेका घरमा आगो लगाइएको छ । यसरी हिन्दूराष्ट्र आउँछ ?’
गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने तर लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने बताए । बैठकमा गृहमन्त्री लेखकले तिनकुनेमा कार्यक्रम आयोजना गर्ने दुर्गा प्रसाईंलाई पक्राउ गरिएकोबारेमा जानकारी गराएका थिए । उनले घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रम जारी रहको र रहने पनि बताए ।
बैठकमा सांसदहरुले तिनकुने घटनामा पूर्वराजालाई पनि जवाफदेही बनाउनुपर्ने बताएका छन् । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले पूर्वराजा ज्ञानेन्द्रलाई पनि जवाफदेहिताको तहमा ल्याइनुपर्ने बताए ।
उनले फागुन ७ मा ज्ञानेन्द्रले आह्वान गरेको अभिव्यक्तिबाट उत्साही भएर ठूलो घटना घटेको भन्दै मृतकलाई श्रद्धान्जली समेत नदिने उनको क्रियाकलापले उनको संलग्नता देखिएको बताए ।
उनले भने, ‘आन्दोलनको अगुवाई गर्ने दुर्गा प्रसाईंजी प्रहरीको नियन्त्रणमा आइपुगेको भन्ने हामीले सुनेका छौं । अहिले यति भन्छु । कोही कसैलाई पनि उन्मुक्ति नहोस् । फागुन ७ मा पूर्वराजाले आह्वान गरेको अभिव्यक्तिबाट उत्साही भएर घटना भएको देखिन्छ । त्यसैले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेहिताको तहमा ल्याउनुपर्छ ।’
त्यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले तिनकुनेमा भएको यस्तो घटना फेरि भविष्यमा नहोला भन्न नसकिने भन्दै सरकार यसमा गम्भीर हुनुपर्ने बताए ।
नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ गतेको घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिको बैठकमा बोलाएर मानव अधिकार उल्लंघन हो कि होइन ? भने प्रश्न गर्नुपर्ने बताए ।