ट्रम्पको ट्यारिफ र नेपाल
-नारायण गाउँले ।
अमेरिकी शेयर बजारले एक हप्तामा ६ ट्रिलियन डलरभन्दा बढी मूल्य गुमायो । यो इण्डिया र रसियाको पूरै एक वर्षको जिडीपी जोड्ने हो भने पनि नभेट्ने अङ्क हो । यो चीनको झन्डै दुई वर्षको राजश्व जति हो । नेपालले त यति ठूलो अङ्क गन्ने दुःख किन गरिरहनु । कहिल्यै काम लाग्ने त होइन । विश्वभरको शेयर बजार ध्वस्त छ । ट्रम्पले सुरु गरेको व्यापार युद्धको धुवाँले धेरै देशमा श्वासप्रश्वासको महामारी फैलिएको छ । इमरजेन्सीको अवस्था छ । हिजो अस्ति दश प्रतिशत भनेको ठूलो अङ्क लाग्थ्यो । आज ड्याङ् ड्याङ् तीस पर्सेन्ट, पचास पर्सेन्ट, सय पर्सेन्टमा बोल बढाबढ छ । न नीति, न तर्क, न बहस, न छलफल । बोल्दिए भयो । समय पनि नचाहिने, तयारी पनि नचाहिने ! आजै बेलुकादेखि भनिदिए भयो । आज बिहान पढेको समाचार बेलुकासम्म पुरानो र असान्दर्भिक भइसक्ने गरी ’फास्ट’ छ यो युद्ध ।
सारा विश्वमान्यता, संस्था र नियमकानुन एकदम फुच्चे या निरीह देखिएका छन् । शासकले जुवा खेल्ने र जनताले द्रौपदीजस्तै परिणाम हेरेर बस्ने अवस्था छ ! हुन पनि कतिविधि व्यापार घाटा रहेछ अमेरिकाको । सबैसँग घाटा । सबैले अमेरिकालाई बेचेर नाफा कमाउने रहेछन् । जापानको जिडीपी जत्रो त अमेरिकाको व्यापारघाटा रहेछ । भियतनामजस्तो देशसँग पनि सय बिलियन डलरभन्दा बढ़ीको घाटा । नेपालले दश वर्षमा कमाउने राजश्व जति त अमेरिकाले भियतनामसँग घाटा बेहोर्दो रहेछ । नाफा भनेको सिङ्गापुर र नेपालजस्ता फाट्टफुट्ट केही देशसँग ! त्यसैमा पनि कुनै वर्ष त नेपालले बढी कमाउने रहेछ । अमेरिकालाई बेच्न नपाए ठूला कम्पनीको नाफा सुक्ने मात्रै होइन, अडिन मुश्किल हुने अचम्मको परनिर्भरता रहेछ ।
अझ रोचक त हिजोसम्म ठूला इकोनोमीमध्ये सबैभन्दा कम कर लिने देश अमेरिका नै रहेछ । हामीले कारमा भन्सार र अन्तःशुल्क भन्दै १००% भन्दा बढ़ी ट्यारिफ लगाउँछौं, अमेरिकाले जम्मा २.५% लगाउँदो रहेछ । २५% बनाउँदा सिङ्गो कार उद्योग नै हल्लियो । हामीले जति लगाउने हो भने के होला ? हाम्रो करबारे धेरै देशले ध्यान नै दिएका छैनन् होला । अरूले जति भन्सार लगाउँछन्, अमेरिकाले पनि त्यति नै गर्न थाल्ने हो भने डामाडोल हुने रहेछ । उसले नेपाल लगायत विश्वका दर्जनौं गरिब देशलाई प्राथमिकतापूर्वक शून्य भन्सार दरमा आफ्नो बजार सुविधा दिँदै आएको रहेछ । जसको फाइदा हामीले खास उठाउन नसके पनि धेरै देशले पक्कै उठाएका थिए ।
ट्रम्पसँग कुनै छलफल र उपाय निस्किने विश्वास धेरैले गरेको देखिन्न । दुईवटा औंला देखाए म चार वटा देखाउँछु भन्नेसँग कसरी सक्नु । एउटा औंला त देखाइसक्यो । अब दुईवटा देखाऊँ, चारवटा देखाउँछ । नदेखाऊँ, उसको औंलो आफूतिर फर्किएको छ ! उसले बोलेको शब्द यति अशिष्ट र अपमानजनक छ कि त्यही देशको पत्रिकाले जस्ताको त्यस्तै छाप्न सकेको छैन । कस्तो आपत् !
फेरि सशस्त्र युद्धमा त जो बलियो छ, त्यो माथि हुन्थ्यो, यस्तो व्यापार युद्धमा जो घाटामा छ त्यो बलियो हुने रहेछ । उससँग जति निहुँ खोज्यो, नोक्सान आफ्नै ठूलो । विश्वकै ठूलो घाटा अमेरिकाकै छ । त्यस्तो ट्यारिफको पहिलो र ठूलो असर त आमजनतालाई नै पर्छ । महँगीको भार खेप्ने त जनताले नै हो । चीनबाट आउने सामान दोब्बर मूल्यको हुनेछ । आफ्नै कम्पनीको आइफोन चीनमा बनेर आउने हुनाले अब डबल मूल्य तिरेर किन्न पर्ने हुनसक्छ । विश्वको ठूलो बजारको कर नै सय प्रतिशतभन्दा माथि पुगेपछि अब चीनमा उत्पादन गरिरहेका बहुराष्ट्रिय कम्पनीले विकल्प खोज्नेछन् । केही समय त अत्यधिक इन्भेन्ट्रीले गर्दा मूल्य सस्तो होला, तर धेरै उत्पादक बाहिरिएपछि प्रतिष्पर्धा घटेर विश्वभर मूल्यवृद्धि हुन सक्छ । तर अमेरिकामा उत्पादन बेस पनि भएकाले जनतासँग स्थानीय उत्पादन प्रयोग गर्ने सुविधा भने हुनेछ । हामीसँग त मोटरसाइकिल जस्तो अत्यावश्यक सवारीसाधनलाई पनि ढाड सेकिने गरी भन्सार नतिरी अर्को विकल्प छैन ।
हरेक वर्ष बढ्दो घाटा कसै न कसैले त पक्कै रोक्न पथ्र्यो । त्यत्रो ठूलो देश हामी जस्तै किनेर मात्रै खाने खालको ठालू बनेर त सधैँ चल्दैनथ्यो । तर त्यो प्रक्रियागत ढङ्गले, निश्चित समयसीमा तोकेर मन्द गतिमा होला भन्ने थियो । ट्रम्पले यसरी आँधीहुरी नै आउने गरी र ड्याङ् ड्याङ् ठोक्न थालेपछि कसैसँग यसको पूर्वतयारी या जबाफ नभेटिएको हो ! यो भन्सारदरको घोषित उद्देश्य उत्पादनलाई अमेरिकामा फर्काउनु र दीर्घकालमा सस्तो बनाउनु रहेको बताइन्छ !
हाम्रो व्यापारघाटा पनि कुल राजश्वभन्दा झन्डै दोब्बर छ र बढ्दो छ । हाम्रो पनि जोसित व्यापार गर्यो, उसैसित घाटा छ । ट्रम्पले जस्तै ड्याङ् ड्याङ् भन्सार बढाउन पनि भएन । पहिल्यै धरहराजत्रो अग्लो छ । उत्पादन बढाउने भन्ने पनि बोलेजस्तो सजिलो हुँदैन । पूर्वाधार बनाउनुपर्यो । जग्गाजमीन लण्डनभन्दा महँगो छ । फ्याक्ट्री खोल्न पुग्ने बजेटले जग्गा पनि आउँदैन । त्यसको उत्पादन के सस्तो होला र । ह्या, यस्तो घाटा र रोकथामबारे चासो पो कसलाई होला र ! हरेक समस्याको समाधान या अन्त्य त हुन्छ नै । यसको पनि होला । तर यसले दिने घाउ र पीडाचाहिँ लामो समय रहिरहने देखिन्छ ।