काठमाडौं । राष्ट्रिय प्रजान्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले गणतन्त्र आएपछि कांग्रेस, एमाले र माओवादीले लुटतन्त्र मच्चाएर देश बर्बाद पारिरहेको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौँको बल्खुमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै शाहीले तीन ठूला दल मिलेर देशमा लुट मच्चाइरहेको आरोप लगाएका हुन् ।
उनले तीन ठूला दलको अकर्मण्यताका कारण जनता सडकमा उत्रिएका बताए । उनले काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साएको आरोपमा पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ गरिएको भन्दै आपत्ति जनाए ।
शाहीले पार्टीका नेतालाई झुटा मुद्दा लगाएर थुन्ने कोसिस भइरहे गणतन्त्रवादीहरूको घर घेर्ने चेतावनी दिए । शाहीले मिश्र र राणालाई तत्काल रिहा गर्न माग गरे ।
उनले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसदमा राजतन्त्र र गणतन्त्रको गलत डाटा प्रस्तुत गरेको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘विश्वप्रकाशजीले राजाका पालामा देश गरिब थियो, अहिले धनी भयो भन्नुभयो । उहाँको कानमा बज्नेगरी सुनाइदिनुहोला । २०४४ सालमा नेपालको प्रतिव्यक्ति आय १४६ डलर थियो भने चीनको २८४ डलर थियो । आज चीनको प्रतिव्यक्ति २४,३६० डलर छ भने नेपालको एक हजार ४ सय ५६ डलर ।’
उनले माओवादी जनयुद्धमा भएको भौतिक क्षतिको रकम प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्ने बताए । शााहीले प्रचण्डले आफ्नो परिवारलाई पदमा पुर्याउन देशले १५ खर्बको भौतिक क्षति व्यहोरेको भन्दै उनको सम्पत्तिबाट त्यसको असुल्नुपर्ने बताए ।

प्रतिक्रिया