राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खु क्षेत्रमा आज प्रदर्शनसहित आमसभा गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा आमसभा गर्दैछ । भृकुटीमण्डपमा गर्न प्रशासनले अनुमति नदिएपछि राप्रपाले बल्खुमा प्रदर्शन र आमसभा गर्न लागेको हो ।
राप्रपाले आज बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्नुका साथै बैशाख ७ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रदर्शन र सभालाई सभ्य, अनुशासित र भव्य बनाउने निर्णय गरेको छ ।
चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भएपछि राप्रपाले आजको प्रदर्शनलाई अनुशासित बनाउने भएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो जीवनकालमा देशमा परिवर्तन देख्न चाहने कुशासन, भ्रष्टाचार राज्य आतंकको अन्त्य गर्नको लागि प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।
राप्रपाले आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी समेत दिएको छ । राप्रपाले आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाई रोक्न हजारौँ स्वयंसेवक खटाइने बताएको छ ।