प्रधानमन्त्रीले भ्याउँदा जुनसुकै बेला हुनसक्छ भारत भ्रमणः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्न काँडेतार नलगाएको बताएका छन् ।
थाइल्याण्डको बैंककमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भारत भ्रमण असम्भव नरहेको बताए ।
उनले भने, ‘भारत भ्रमण असम्भव कुरा हो र ? असम्भव कुरा थियो र ? त्यो त कतिपय कारणले नभ्याइराखेको स्थिति हो । यो बाहिर जस्तो छ अवरुद्ध भो भारत भ्रमण, काँडेतार लगाएको छ र कसैले ?’ प्रधानमन्त्रीले भ्याउँदा जुनसुकै बेला भारत भ्रमण हुनसक्ने बताए । उनले भने, ‘हामी अहिले सगरमाथा संवाद गर्दैछौं । तर, भ्याए त्योभन्दा अघि पनि हुनसक्छ।’
उनले मोदीसँगको भेटमा कुनै सानातिना छिमेकमा समस्या देखिए तत्काल एकआपसमा संवाद गरिहाल्ने र समस्याहरुलाई टुंग्याई हाल्ने अठोट गरेको समेत बताए ।
प्रधानमन्त्रीले भने, ‘दुई प्रधानमन्त्रीका बीचमा पारस्पारिक सहयोगका विभिन्न सहयोगहरुको सम्बन्धमा, लगानी, व्यापारका क्षेत्रहरुका सन्दर्भमा र पञ्चेश्वर लगायतका विषयहरु दोधारा चाँदनीमा महाकाली सिँचाई योजना गर्नेलगायतका विषयहरुमा कुरा भयो । दुई पक्षीय पारस्परिक हितका विषयमा कुराकानीहरु भए । हामीले एउटा अठोट गरेका छौं । नेपाल–भारत सम्बन्धलाई अझ व्यापक, विस्तृत, सुदृढ गर्दै लाने र कुनै सानातिना छिमेकमा समस्या देखिए भनेपनि एकआपसमा संवाद गरिहाल्ने र समस्याहरुलाई टुंग्याईहाल्ने जस्ता कुराहरुका बारेमा गहिरो समझदारी गरेका छौं । भेटघाट फलदायी भएको छ ।’