विवेकहीन सिण्डिकेट



-डा. गोविन्दशरण उपाध्याय ।

एउटा राजनैतिक पार्टीको राजनीतिक आस्थामा आधारित भएर खोलिएका संघसङ्गठनहरू कसरी स्वतन्त्र हुन्छन् ? मैले बुझ्न सकेको छैन । पार्टीको राजनैतिकवादको आस्थामा आधारित भएर खोलिएका न्यायाधीश, वकिल, पत्रकार, शिक्षक, प्राध्यापक, विद्यार्थी, पेशाकर्मी तथा नागरिक समाजका संगठनहरू सम्बन्धित राजनैतिक पार्टीको एजेण्डालाई सघाउनका लागि हुन् । यी सङ्गठनहरूले पेशागत अधिकारका लागि काम गर्छन् वा राष्ट्रीयहितका लागि काम गर्छन् भन्ने ठान्नु भएको छ भने म र तपाईंजस्तो कोक्लेटो मान्छे संसारमा म र तपाईं बाहेक अरू कोही छैन ।

राजनैतिक विचार राख्नु स्वभाविक हो तर आफ्ना मूलपार्टीको राजनैतिक एजेण्डाका लागि पेशागत हकहित र राष्ट्रीय स्वार्थलाई नै बलिदान दिने तथा माउँपार्टीको आडमा तोकिएको जिम्मेवारी पूरा नगर्नुलाई (नेतागिरी) गौरव ठान्ने पेशाकर्मी, विद्यार्थी, कर्मचारी, शिक्षक, डाक्टर, इन्जिनियर, वकिलआदि भएर पनि राजनैतिक नेताका ‘झोले’ हुन् । नेताहरूले बनाएका सिन्डिकेटका थाम हुन् । नेपालको प्रगति, अग्रगमिता, विकास तथा निकाश रोक्ने यिनै हुन् । सिन्डिकेटमा आवद्ध भएका व्यक्तिहरूले आफ्नो माउपार्टीले जघन्य अपराध गरे पनि आँखा देख्दैन, त्यस्तो समाचार सुन्दैन र मुखबाट एउटा शब्द पनि बोल्दैन ।

राजनैतिक शक्ति प्राप्त गर्न नेताहरूले पार्टी नै पिच्छे तयार पारेका यी सिण्डिकेटहरूले लोकतन्त्रको असली स्वभाव र आचरणलाई निलिरहेका छन् । यस्ता सिण्डिकेटहरूले विकाशसील देशको पूर्वाधार विकासका साधन र स्रोतहरू व्यक्तिगत सुखका लागि प्रयोग गर्ने षड्यन्त्र रचेर (प्रजात्रन्त्रकै नाममा) देश र समाजलाई ध्वस्त पारिरहेका छन् । निर्धन देशका लोकतन्त्रहरू न जीवित छन् न मरिसकेका छन् । राजनैतिक नेताको सिण्डिकेटको थाम बनेर सधैं देश, समाज तथा व्यक्तिको सहज विकासमा बाधा उत्पन्न गरिरहेका छन् । सिण्डिकेटमा आबद्ध भएका व्यक्तिहरू सत्य नसुन्न, नबोल्न र नगर्न अभिशप्त छन् ।

जव प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र वा राजतन्त्रका नाममा सिण्डिकेटहरूले सत्यको घांटी रेट्छन् त्यही क्षणबाट व्यक्ति र समाजको प्रगति रोकिन्छ । जव अभिशप्तहरूले आफ्ना पापकर्म लुकाउन सिण्डिकेटको प्रयोग गर्छन् र सिण्डिकेटहरूले सत्यलाई जिउँदो मार्छन्, देशको प्रगति र व्यक्तिको अग्रगामी चिन्तन त्यहीं रोकिन्छ । नेपाली समाजले नेता र तिनका सिण्डिकेटहरूमा विश्वास गरेर धेरै गुमाएको छ र आज पनि गुमाइरहेको छ । विद्यार्थी, पेशाकर्मी, कर्मचारी, प्राध्यापक, बुद्धिजीवी, वकिल, न्यायाधीशआदि व्यक्तिहरू जुन क्षण सिन्डिकेटको सदस्य बने पेशागत हकहित र सत्य सुन्ने, देख्ने, बोल्ने क्षमता आफ्ना माउँपार्टीका नेताहरूको विवेकमा बन्धक बनाए ।

मान्छे राजनैतिक प्राणी पनि हो, राजनैतिक आस्थामा आवद्ध रहौं तर सत्य बोल्ने, सत्य लेख्ने, सत्य सुन्ने र सुनाउने तथा साँचोका पक्षमा उभिने आफ्नो विवेकलाई स्वतन्त्र राखौं । सायद, मैले लेखेको कुरा सिण्डिकेटका सदस्यहरूलाई चित्त बुझ्ने छैन र आफ्नो गुमेको विवेकका सम्बन्धमा पछुतो हुने छैन तर पनि विश्वास गर्छु, विवेकको एउटा झिल्कोले आत्मग्लानी अवश्य हुने छ । आफै प्रति आफुले गरेको अन्यायले चित्त पोल्ने छ । सिण्डिकेटको चरित्रनै परतन्त्रतामा स्वाद प्राप्त हुने भएकोले वाहिर निस्कने बाटो नै भेटिन्न । जव सत्यलाई सिण्डिकेटले छेक्छ, सत्य मर्दैन तर व्यक्ति र देश सधैंका लागि अवनतिको कालो इनारमा जाकिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षकहरुले आन्दोलनलाई थप सशक्त बनाउने

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । सरकारले

असिनापानीसँगै परेको चट्याङ लागेर डोटीमा एक जनाको मृत्यु, सात घाइते

डोटी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना

ट्रम्पको ट्यारिफ र नेपाल

-नारायण गाउँले । अमेरिकी शेयर बजारले एक हप्तामा ६ ट्रिलियन डलरभन्दा बढी मूल्य

नेपालले म्यान्मारलाई पठायो २७ टन बराबरको राहत सामग्री

काठमाडौँ । नेपाल सरकारले म्यान्मार सरकारलाई करिब २७ टन बराबरको राहत सामग्री सहयोगस्वरूप