उर्जामन्त्रीले कुलमान हटाएर ट्युनिङ मिल्ने कार्यकारी खोज्दा बालेनले चाहिँ खोज्न नमिल्ने ?


नारायण गाउँले ।

आमजनताले मन पराएका र कार्यकुशलतासमेत देखाएका कुलमानलाई सरकारले हटायो । भ्रष्टाचारदेखि जिम्मेदारी ननिभाएको जस्ता आरोप लगाइयो । जबकि आमजनताको नजरमा आरोप लगाउनेहरूकै छवि र इतिहास भ्रष्ट थियो ।

बालेनले भ्रष्टाचारको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बिदामा पठाए । उनी कस्ता थिए थाहा भएन, तर आरोप लगाउने बालेनको आर्थिक पाटोमाथि आजसम्म विपक्षीले पनि प्रश्न उठाउन सकेको छैन । उनले मन्त्रालय र सरकारलाई नयाँ अधिकृत पठाइदिन निरन्तर ताकेता गरे । सरकारले टेरपुच्छर नलगाएको देखियो । बालेनले प्रत्यक्ष–अप्रत्यक्ष फेसबुकमार्फत असन्तुष्टि र फ्रस्ट्रेशन पोखिरहे ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरको आर्थिक क्रियाकलाप ठप्प हुने नै भयो । कर्मचारी र नगरप्रहरीले तलब बुझ्न समेत पाएनन् । उनले गत हप्ता ’कार्यकारी अधिकृत नपठाए’ नेताहरूलाई टुकुचामा गाडीदिने सम्मको धम्की दिए । यो भाषाशैली पक्कै शिष्ट र मर्यादित थिएन तर लामो समय एउटै विषयमा लड्न पर्दा र सरकारले घुँडा नै टेकाउने नियत राख्दा उनको पारो चढेको बुझ्न सकिन्थ्यो ।

उनले गिरिबन्धुदेखि एमाले सांसदले गरेको भनिएको बालहिंसाजस्ता विषयमा जसरी निरन्तर केपी ओलीलाई टार्गेट गरेर लेख्दै आए, त्यस्तोमा केपी ओलीले उनको माग सजिलै पूरा गर्ने सम्भावना थिएन । ओलीले चुपचाप यसलाई ‘देखाइदिने अवसर’ का रूपमा लिए । बालेनले पनि बारम्बार देखाइदिने खालका कतबतगक लेखेकै थिए । यो देखाइदिने क्रममा महानगर ठप्प भयो र पीडि़त भए कर्मचारी । काठमाडौंको महँगीमा तलब कुरेर महिनौं बिताउन सजिलो थिएन । स्कुलले कुर्दैन, किरानापसलले सधैँ उधारो दिन्न ।

कुलमान सरकारले नियुक्त गर्ने र हटाउन मिल्ने पदमा थिए । अदालतबाहेक अर्को बाधा थिएन । तर प्रशासकीय अधिकृतलाई सरुवा गर्न त मिल्थ्यो तर हटाउन गाह्रो थियो । मन्त्रीसँग ट्युनिङ मिल्ने कार्यकारी खोजेजस्तै मेयरसँग ट्युनिङ मिल्ने अधिकृत उनले खोजेका थिए । काम गर्नका लागि यस्तो ट्युनिङ जरूरी पनि हुन्छ । तर त्यो स्वस्थ हुनुपर्छ । त्यत्ति एउटा माग पूरा गर्न सरकारलाई केही अप्ठेरो पनि थिएन । छोटो समयमा धेरै काम गर्छु भन्ने चाहना हुनेलाई उस्तै खालको सहयोगी अधिकृत भएन भने पक्कै सजिलो हुँदैन । नेपालमा मन्त्रीको लहडमा एक महिना नपुग्दै सरुवा गरिएका हजारौँ उदाहरण छन् । दिनदिनै बिनाकाम सरुवा भएकै छन् । अझ मन नपरेको कर्मचारीलाई कुनै काम नै नभएको जगेडामा थन्क्याउने गरिन्छ । एउटा अधिकृत फेर्न कुनै समस्या नै थिएन । तर सरकारको नियत बालेनलाई जसरी पनि गलाउने भन्ने देखियो । बिदामा बसेकाले उनको ठाउँमा अर्को नियुक्त गर्न नमिल्नेदेखि कोही जान नचाहेकोसम्म अनेक बहाना बनाएर सरकार पन्छियो ।

एउटा कर्मचारीका लागि भ्रष्ट भन्ने आरोप पक्कै ठूलो र हानिकारक हो । भ्रष्ट नै हो भने सरुवा गरेर अन्यत्र पनि भ्रष्टाचार सार्नु पक्कै राम्रो होइन । छानबिन गरेर दोषी देखिए कारवाही र चोखो देखिए सफाइ पाउनु उसको पूर्ण हकको कुरा हो । छानबिन नेपालमा न समयमा हुन्छ, न स्वच्छ हुन्छ । त्यो मेयरको हातमा मात्रै नहुन पनि सक्छ । छानबिनअघि नै भ्रष्ट भनेर मानमर्दन गर्नु बालेनको पनि गल्ती थियो ।

सार्वजनिक पद धारण गरेपछि व्यक्तित्व र गतिविधि पनि तदनुरूप नै हुनु राम्रो हुन्छ । सरोकारवालाहरूसँग निरन्तर संवाद, सहकार्य र सहज पहुँच हुनुपर्छ । नेपालमा अधिकांश नेता धेरै बोल्ने र जथाभावी अन्तरवार्ता दिने खालका छन् । बालेनचाहिँ बोल्नै पर्ने सार्वजनिक इश्युहरूमा पनि नबोलेर, आमजनचासो रहेको विषयमा समेत दोहोरो संवाद नगरेर, फेसबुकमार्फत ‘वान–वे’ अभिव्यक्ति दिएर पन्छिने खालका देखिए ।
समस्यालाई फेस गर्ने, सिर्जनात्मक रूपले नेगोसिएशन गर्ने र सम्झौता गर्ने धैर्य, कूटनीति र क्षमता नदेखिनु उनको सबैभन्दा ठूलो कमजोरी हो । सञ्जालको भाषाशैली समेत उनले सुधार गर्नुपर्ने अर्को विषय हो । केही मिटिङ् र भेलाहरूका भिडियोमा उनी सभ्य र तार्किक नै देखिन्छन् ।

यो विषय पनि उनले संवादबाट सल्टाउन सक्थे कि ? वैधानिक बाटोबाट मन्त्रीलाई चिठी पठाएकै हो, इमेल गरेकै हो भन्ने खालको उनको तर्क देखिन्छ तर नेपालमा ‘विधि’ भन्ने बसेकै छैन भन्ने उनले बुझेनन् । ठाउँ अनुसार विधिका नाममा अल्झिएर ढिलो या असफल हुनुभन्दा लचिलो भएर काम सम्पन्न गर्नु जरूरी छ । फेरि विधि बसाल्दै जाने पनि दायित्व हामी सबैको हो नै ।

मेयर हुनेबित्तिकै उनी हरेक नेता र सरोकार राख्नेकहाँ पुगेका थिए । त्यो राम्रो लक्षण थियो । वडाध्यक्षहरूले सुरुमै विरोध र असहयोग गरे पनि उनले बिस्तारै सहज सम्बन्ध बनाएका थिए । त्यो नेतृत्वको सुन्दर उदाहरण थियो । पार्टीको टिकटबाट जितेको उपमेयर र वडाध्यक्षसँग एक्लो स्वतन्त्र मेयरले सँगै काम गर्न पक्कै सजिलो थिएन । तर उपमेयर र उनी दुबैको परिपक्वता झल्किने गरी न्यूनतम मात्रै फ्रिक्शन देखिन्थ्यो । शहरलाई सुन्दर र व्यवस्थित बनाउने बालेनको चाह क्लियर रूपमैं अनुमान गर्न सकिने विषय हो । नेपालमा सम्भवतः सबैभन्दा ‘पपुलर’ छवि पनि उनकै थियो । यसलाई सदुपयोग गरेर केही नयाँ र नौलो गर्न सकिनुपर्ने हो । उनले त्यो मोमेन्टम फेरि ब्यूँताउनु जरूरी छ । बहुदलीय व्यवस्थाको त्यो बाध्यता या सौन्दर्य दुबै हो भन्ने बुझ्न पर्छ ।

यो प्रकरणलाई केहीले बालेनको पतन भनेर प्रचार गरेको देखियो । केहीले राजनैतिक स्वार्थका लागि प्रयोग गर्दै बालेनमाथि छद्म उक्साहटको पहल गरेको पनि देखियो । पहिलोपल्ट राजनीतिमा आएको व्यक्तिसँग कोक्रोदेखि नै राजनीति गर्नेको जस्तो कूटनीति हुने कुरो भएन, नियमकानुन अनुसार चल्न खोजेर मात्रै नेपालमा सम्भव हुने कुरो भएन । भएको यत्ति हो । यो जीत या हारको विषय होइन । उनीमाथि भ्रष्टाचारको आरोप लागेको होइन, चरित्रमाथि प्रश्न उठेको होइन ।

जनताबाट प्रत्यक्ष चुनिएर आएको मेयर फेर्न सकिन्न । तर काम गर्न सजिलो हुन्छ भने कर्मचारी फेर्न सकिन्छ । झन्डै दुई तिहाईको सरकारले यसरी ईगो नराखी मेयरलाई सहज गरिदिएको भए पनि हुन्थ्यो । तर नयाँहरू प्रति पुराना अनुदार नै छन् । सकेसम्म अँठ्याउने कोसिस हुन्छ ! कर्मचारी पनि प्रायः दलकै सदस्य हुन्छन् । आफूले चाहे जे आरोप लगाएर पनि कुलमानहरूलाई हटाउन मिल्छ भने एउटा प्रशासकीय अधिकृत सरुवा गर्न नमिल्ने भन्ने पनि हुन्छ र ?

यो बालेनको सेटब्याक होइन । उनले एक्लै ऐनकानुन र सरकार फेर्न सक्दैनन् । नसक्ने कुरोमा हारजित हुँदैन । कोसिस गर्ने हो । यस्ता ठक्करले सजग हुन र सिक्न मद्दत नै गर्छन् । सिक्न भने पर्छ । अब वडाध्यक्षदेखि उपमेयरसम्म र महानगरका कर्मचारीदेखि सरकारसम्म एकातिर छन् भने एक्लो लडेर केही हासिल हुँदैन । समय मात्रै नष्ट हुन्छ ।

बालेनमा अलिकति राजनैतिक सुझबुझ, अलिकति सामाजिक उपस्थिति, अलिकति नम्रता र अलिकति कूटनीति थपिने अनि अलिकति ईगो र आक्रोश हट्ने हो भने कस्तो हुन्थ्यो होला भन्ने मलाई लाग्दै आएको हो । विसङ्गति देखेर अनि लामो कुनै स्वार्थ नराखी आएकाले पनि स्वर अलि चर्को हो कि ? फेरि पनि गाली गर्न, ईगो बोक्न र जथाभावी बोल्न त पीएचडी गरेकै नेता छन् नि । नयाँ त नयाँकै लागि चाहिने हो !