एउटा पुस्ताले राजा बरु तीनचार वटा देख्यो होला, तर यिनको विकल्प देख्न मुश्किल छ !
-नारायण गाउँले ।
एउटा हिजो हुनुहुन्थ्यो, अर्को आज हुनुहुन्छ र झन् अर्को भोलिको पालो कुर्दै हुनुहुन्छ । यी तीनजना यतिबेलाका सर्वोच्च शासकीय अनुहार हुनुहुन्छ । भर्खर नागरिकता लिएको पुस्ताले त अरू शासक चिनेकै छैन । उहाँहरूले पालैपालो कुर्सी साट्नुहुन्छ । राम्रो त व्यक्तिगत नै भयो, आजसम्मको नराम्रो जतिको दोष पनि उहाँहरूले इमान्दारीपूर्वक तीनैमध्ये एकलाई दिनुहुन्छ । पालैपालो दिने हुनाले कसको भागमा धेरै र कसको भागमा थोरै पर्यो भन्ने समस्या पनि छैन । गाली, ताली र माया पालैपालो यही तीन जनामा घुमिरहन्छ । कहिले पसिना पनि बसाउँछ, कहिले धुँदाधुँदा साबन सिद्धिन्छ । कहिले को–पाइलट बनेर एउटै पार्टी उडाउनुहुन्छ कहिले एकअर्काको आङ कन्याएर छारो उडाउनुहुन्छ ।
हामी चेतनशील नागरिक छौं । प्लेन होस् कि छारो, देश होस् कि भविष्य, उडाउने बित्तिकै ताली बजाउँछौँ । कसको ताली कति जोडले बज्यो भन्ने मात्रै हाम्रो चिन्ता र पहुँच हो । आफ्नै घरआँगनको दाजुभाइलाई मान्छे देख्ने कि दासमात्रै अनि कतिबेला मान्छे र कतिबेला गैरमान्छे भन्ने छुट्याउन यी तीनजनाको मुख ताक्नेबाहेक हाम्रो अन्य उपति छैन ।
दुई वटा त सँगै हुनुहुन्छ । नहुने तेस्रोले आज सडकबाट यो सरकार ढल्नुपर्छ र फेरि म आउनुपर्छ भन्नुभो । दलाल भन्नुभो, भ्रष्ट भन्नुभो । केही दिनअघि मात्रै पनि उहाँ सँगै हुनुहुन्थ्यो, सद्दे नै हुनुहुन्थ्यो । समृद्धिको यात्रामा अद्भुत सहयोगी हुनुहुन्थ्यो । आज दलाल हुनुभो । अब अर्कोको पालो पर्सि संसदमा आउँदै छ । उहाँले पनि झिङ्गाको मुटुजत्रो चित्त पनि नभएको र हिंस्रक भन्दै उखान र कथा हालेर अर्को एक घण्टा गाली गर्नुहुनेछ । सजातीय हातहरू क्या बात् भन्दै रोस्ट्रममा बज्रिनेछन् ।
यो खेल उल्टो सुल्टो दुबै चल्ने हुनाले केही महिनापछि फेरि बार्दलीमा आज गाली खानेहरू सँगै उभिएर हामीलाई हात हल्लाउनेछन् र हामी ऐतिहासिक परिवर्तन भन्दै हतारहतार लगौंटी कसेर त्यही लाइनमा उभिनेछौँ ! कहिले त त्यही कस्न पनि भ्याइन्न र ह्वाङ्गै हुन्छ । खैर, त्यो छोड़म् ।
तपाईंलाई लाग्ला बहुदल छ, लोकतन्त्र छ । तर खासमा जे छ त्यो उहाँहरू नै हो ! संविधान लेख्ने पनि उहाँहरू नै हो, फेर्ने पनि । अरू त सङ्ख्या मात्रै हो । ल्याप्चे मात्रै हो । व्यवस्था भन्नु पनि उहाँहरू नै हो । पार्टी भन्ने त पुच्छर हो, हल्लाउने काम उहाँहरूकै हो ।
कुलमान हटे । बोल्न त डर छ, तर शायद एक जना एमाले भोटरलाई पनि यो ठीक लागेको छैन । तर हटे । कांग्रेसको त महामन्त्रीदेखि ठूला नेतासम्मले खुलेर विरोध नै गरे, तर हटे । अर्का जुन दिन बालुवाटार घुसे, त्यही दिन कुलमान हटे । न यी जोडिने बेला अरूको एक त्यान्द्रो हात हुन्छ न छुट्टिने बेला । हामीलाई यिनले कालो भने कालो हो, सेतो भने सेतो हो । एउटा पुस्ताले राजा बरु तीनचार वटा देख्यो होला, तर यिनको विकल्प देख्न मुश्किल छ ।
न यीबीच अर्थतन्त्रको चिन्ता र बहस छ न सामाजिक मुद्दाहरूको । न कालिकोट र मुगुका जनताले अझै बेहोर्नुपर्ने एक युग पुरानोजस्तो जीवनबारे चासो छ न योग्य र दक्ष जनशक्ति दिनदिनै पलायन हुनुको । न यिनमा अन्यत्र बिरलै पाइने योग्यता भन्नु, न दक्षता । न आशा र उत्साह भर्ने स्वच्छ व्यक्तित्व छ न यिनलाई हेरेर, सुनेर अलिकति सभ्यता र शिष्टता सिकिन्छ । न परीक्षण गर्न बाँकी भन्नु न सुधारको सम्भावना । ढाड सेकिने कर तिरेर गाली मात्रै त कति सुनिरहनु । यी र अहिलेको व्यवस्था एउटै जस्तो भएकाले पो मान्छे फ्रस्ट्रेटेड भएका हुन् कि ? यिनलाई नै व्यवस्था मानेर पो झुक्किएका हुन् कि ? उपचार र निकास यतै पो छ कि ?