काठमाडौं । समाजवादी मोर्चाले काठमाडौंमा प्रदर्शन सुरु गरेको छ । अहिले उपत्यकाका विभिन्न क्षेत्रबाट भृकुटीमण्डप जान जुलुस निकालिएका छन् ।
कोटेश्वर हुँदै पूर्वबाट आउनेहरूको जुलुसको नेतृत्व माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गर्नेछन् । त्यस्तै ललितपुर हुँदै दक्षिणबाट आउनेहरूको नेतृत्व माओवादी नेतृ पम्फा भुसालले गर्नेछिन् । कलंकी हुँदै पश्चिमबाट आउनेहरूको नेतृत्व माओवादी उपमहासचिव जनार्दन शर्माले गर्दैछन् ।
त्यस्तै, बालाजु हुँदै उत्तर पश्चिमबाट आउनेहरूको नेतृत्व माओवादी नेता शक्तिबहादुर बस्नेतले गर्नेछन् । जुलुस प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुनेछ । सभालाई मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । यता राजावादीहरुले पनि आजै काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्दैछन् ।