शान्ति प्रक्रिया टुंगोमा पुर्याउने विषयमा दलहरुबीच विवाद छैन र हुँदैन पनिः अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया टुंगोमा पुर्याउने विषयमा दलहरुबीच कहिले पनि विवाद नभएको र अब पनि हुन नहुने बताएका छन् ।
बिहीबार ‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनमा प्रचण्डले राजनीतिक दलहरूबीच अहिले धेरै विषयमा विवाद भएपनि शान्ति प्रक्रिया टुंग्याउने विषयमा भने विवाद नरहेको बताएका हुन् ।
उनले पीडितहरूलाई सम्बोधन गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । उनले भने, ‘राजनीतिक दलहरूमा अहिले पनि विवाद छन्। प्रमुख दलहरू कोही सत्तापक्षमा छौं कोही विपक्षीमा छौं। विगतमा पनि तमाम विवाद भएपनि शान्ति प्रक्रिया टुंगोमा पुर्याउने विषयमा कहिले पनि विवाद भएन र हुँदैन पनि ।’
उनले टीआरसी विधेयक ढिलै पारित भएपनि राजनीतिक कारणले भने ढिलाइ नभएको दावी गरे। टीआरसी विधेयक पारित भइसकेको र आयोग गठनका लागि पनि सिफारिस समिति गठन भइसकेको भन्दै प्रचण्डले पीडितहरूको न्याय दिने प्रक्रियालाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
उनले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन सबै एकजुट हुनुपर्ने बताए । उनले भने, ‘संक्रमणकालीन न्यायका आफ्नै मान्यता छन् । यो फौजदारी कानुन जस्तो होइन । सम्बन्धित देशको विशेषता अनुसार हेर्नुपर्ने हुन्छ ।’