म अब २०८४ सालसम्म प्रधानमन्त्री हुन्नः प्रचण्ड
वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू २०८४ सालसम्म प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।
प्रेस सेन्टर पर्साले वीरगञ्जमा शुक्रबार आयोजना गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’का क्रममा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने, ‘म अब २०८४ सालसम्म प्रधानमन्त्री हुन्न । म जनतासँगै रहन्छु । जनताका समस्या सदनमा उठाउँछु ।’
प्रचण्डले सरकारमा हुँदा एउटा र सरकारबाहिर हुँदा अर्काे भन्ने कुरा माओवादी केन्द्रको हकमा लागू नहुने उल्लेख गरे ।
‘हामीले सरकारमा हुँदा भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याएका थियौँ,’ उनले भने ।
अध्यक्ष दाहालले पत्रकार सम्मेलनअघि वीरगञ्जमा ‘माओवादीसँग समुदाय’ संवाद कार्यक्रममा तराई–मधेस हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानअन्तर्गत झापादेखि पर्सासम्म आइपुग्दा हुलाकी राजमार्गलाई अघि बढाउने कार्यमा अफ्नो पहल कदमी रहेको बताएका थिए ।