गुरुकुलका केही कुरा
-डा. गोविन्दशरण उपाध्याय ।
सन् २०१८ मा नेपालभरी २२५ गुरुकुलहरू संचालनमा थिएर र तिनमा करिव ३५०० विद्यार्थीहरूले पढ्थे । सन् २०२५ यिनको सङ्ख्या करिव ४२२ पुगेको अनुमान गरिन्छ भने विद्यार्थीको सङ्ख्या अनुमानित ५४०० जति रहेको छ । यसरी हेर्दा प्रत्येक गुरुकुलमा सरदार १३ जना बटुकहरूले पढ्छन् । भौगोलिकरूपले हेर्दा पूर्वीनेपालमा लगभग २०० वटा गुरुकुल संचालित्र छन् भने सुदूरपश्चिममामा गुरुकुलहरूको सङ्ख्या केवल १४–१५ मात्र रहेको छ ।
नेपाल सरकारले गुरुकुल वा वेदविद्याश्रमका लागि कक्षा १ देखि १२ सम्म नै संस्कृतको पाठ्यपुस्तक पुस्तक विकसित गरेको छ जुन पाठ्यक्रममा कर्मकाण्ड विषयलाई महत्व दिंदै ज्योतिष, व्याकरणआदि समावेश गरिएको छ । धेरैजसो गुरुकुलहरूका विद्यार्थीहरू विहानवेलुकी गुरुकुलीय शिक्षाको अभ्यास गर्छन् भने दिउसो सरकारी वा निकटस्थ निजी–विद्यालयहरूमा पनि पढ्ने गर्छन् । कक्षा १ देखि आचार्यसम्मको शिक्षा दिने गुरुकुलहरूको सङ्ख्या थोरै छ भने विज्ञान विषयसमेत गुरुकुलमा पढाइन्छ तर भाषा भने नेपाली वा अंग्रेजी नै हुन्छ । विज्ञान, गणित वा अन्य आधुनिक विषयका पाठ्यपुस्तकहरूको संस्कृतमा अभाव छ । भविष्यमा अनुवाद गरिएला वा संस्कृतमै पाठ्यक्रमको विकास गरिएला ! आशा गर्नुपर्छ ।
गुरुकुल पद्धतिको शिक्षासंग केही अविवेकशील मान्यताहरू जोडिएका छन् । उदाहरणका लागि गुरुकुल शिक्षामा केवल कर्मकाण्ड सिकाइन्छ, गुरुकुलमा अंग्रेजी, नेपाली वा विज्ञान सिकाइन्न, गुरुकुलमा केवल ब्राह्मणहरूले पढ्न पाउँछन् र गुरुकुलहरूले कर्मकाण्डी ब्राहमण उत्पादन गर्छन् । गुरुकुल शिक्षाको प्राचीन विधा हो जहाँ गुरू र शिष्य प्राकृतिक वातावारणमा सैद्धान्तिक र व्याबहारिक शिक्षा ग्रहण गर्छन् । गुरुकुलमा सबै प्रकारका शिक्षाको व्यबस्था हुन्छ यहाँसम्म कि दाम्पत्यजीवनका लागि सिक्ने पर्ने विषयः कामसूत्र पनि गुरुकुलकै सिलेवसको अंग हो ।
प्राचीन समयमा शिक्षादीक्षाको माध्यम र विचार आदानप्रदानको माध्यम संस्कृत भाषा थियो । नेपालबाट भारतको रामेश्वर जानेले एकआपसी संचार गर्न संस्कृतभाषाको उपयोग गर्नु पथ्र्यो भने रामेश्वरबाट काठमाडौं आउनेले पनि संस्कृतभाषाको उपयोग गर्थे । आमसंचारमा संस्कृतको धेरै महत्व थियो । तेसैले संस्कृतभाषा स्थापित भयो । अर्को कुरा संस्कृत एउटा भाषा हो – जसको उपयोग र प्रयोग जुनसुकै व्यक्ति, समाज वा राष्ट्रले गर्न सक्छन् र जेसुकै सामाग्रीहरू संस्कृतभाषाका माध्यमबाट उत्पादन र प्रयोग गर्न सक्छन् ।
प्राचीनकालमा पनि संस्कृत आम बोलीचालीको भाषा थिएन । उदाहरणका लागि अहिले अंग्रेजी जान्नेलाई “जान्ने“ ठानिएझैं प्राचीनकालमा संस्कृत जान्नेलाई “जान्ने“ मान्ने चलन थियो र समयचक्र घुमेर होला आजको समयमा पुनः संस्कृतको ज्ञान राख्ने तर अन्य भाषाहरूका माध्यमबाट आफ्नो ज्ञान प्रकट गर्न सक्नेलाई विद्वान मान्न थालिएको छ । आज संस्कृतप्रति मान्छेहरूको अभिरुचि बढ्दो छ । संस्कृतमा अभिरुचि बढ्नुका दुई प्रमुख कारण छन् – संस्कृत हिन्दू, जैन, बौद्ध समुदायको सांस्कृतिक तथा धार्मिक माध्यमसंग जोडिएको हुनु र दोस्रो, संस्कृतमा ज्ञानको विशाल सागर हुनु । सांस्कृतिक भाषा भएको नाताले आफ्नो जरोकिलोसंग जोडिने चाहनाले संस्कृतका गुरूकुलहरू बढेका हुन् भने संस्कृतमा असंख्य ज्ञानको भण्डार भएको हुँदा संस्कृत नपढेका तर संस्कृतभित्र भएका ज्ञानका विषयमा जानकारी चाहाने प्रवृतिले पनि गुरुकुलहरूको सङ्ख्यामा वृद्धि भएको हो ।
गुरुकुलको शिक्षा परम्परा गुरुमुखी हुन्थ्यो भन्ने तत्थ्य नामबाट नै उजागर हुन्छ । विश्वभरी शिक्षाको व्यक्तिव्यक्तिका तहमा विकास हुँदै गर्दा गुरुकुल पद्धतिको तुलनामा अंग्रेजी पद्धतिको शिक्षा व्यबस्थाले फड्को मार्यो । आज शिक्षाको अर्थ र बुझाई नै स्कूल/कलेजसंग जोडिने गर्छ । शिक्षित हुनु, योग्यहुनु राम्रो कुरा हो तर शिक्षित हुँदैगर्दा आफ्नो मौलिकतासंग काटिनु, आफ्नै इतिहासका विषयमा अज्ञात हुनु र अनुसन्धान नगरीकन आफ्ना पद्धतिहरूमा खोट देख्ने प्रवृत्ति अनुचित हो । नेपालमा गुरुकुलहरूप्रति अभिरुचि बढ्नुको अर्को प्रमुख कारण प्रचलित शिक्षा पद्यतिले आफ्नै धर्म, संस्कृति, परम्परा र पहिचानबाट शिक्षितलाई बन्चित गर्नु पनि हो । गुरुकुल शिक्षादीक्षा पद्धतिले व्यक्तिलाई “आफ्नो मौलिक जरोकिलोसंग“ जोड्छ र पहिचानका मूल्यहरूलाई संरक्षण गर्छ भन्ने विश्वास र व्यबहारले गुरुकुलहरूप्रति समाजको अभिरुची बढेको हो ।
–केही लोभीपापीहरूले गुरुकुलको उपर्युक्त अभिरुचिको उपयोग गर्दै ‘गुरुकुल’को स्थापना गरेका छन् । यस्ता लोभीहरूको उदेश्य गुरुकुललाई सिडी बनाएर आफ्नो पेट पाल्नु हुन्छ । भन्न असजिलो लाग्छ तर टाडाटाढाका गरिव ब्राह्मण बटुकहरूलाई उत्तम शिक्षादीक्षा दिने प्रलोभन दिएर गुरुकुलमा ल्याइन्छ र अत्यन्त अनुदार, अविवेकी तथा अनादरपूर्ण व्यबस्थापन गरेर स–साना बटुकहरू देखाएर आफ्नो पेट भर्ने काम गरिन्छ । अबोध बालकहरूले अनेकौं प्रकारका अनावश्यक क्रियाहरू गर्नुपर्छ र दाता आएको बेलामा देखाउनका लागि भए पनि निकै जान्ने, बुझ्ने र सिकेको अभिनय गर्नुपर्छ । यस्ता व्यक्तिहरूले संचालन गरेका गुरुकुलमा प्रताडित भएका बटुकहरूले धर्म, संस्कृति तथा परम्पराप्रति राम्रो भाव विकसित गर्न सक्दैनन् । संचालकको पेट भर्न खडा गरिएका गुरुकुल श्रद्धास्थल हुनुहुँदैन ।
मैले केही गुरुकुलहरूमा भ्रमण गरेको छु जसको उद्देश्य पवित्र छ, गुरूहरू उत्तम छन् र बालबालिकाले पनि उत्तम शिक्षादीक्षा ग्रहण गरिरहेका छन् तर स्रोतसाधनको अभावले गर्दा निकै रुग्ण अवस्थामा छन् । तैपनि धर्म, संस्कृति तथा परम्पराको मायाले गर्दा आफ्नै घरखेत बेचेर पनि गुरुकुल संचालनमा छन् । राज्यले देला/नदेला, समाजले सहयोग गर्ला/नगर्ला तर भगवान् महादेवको कृपाले ती गुरुकुलहरूले अग्रगामी बन्नेपर्छ । यस्ता गुरुकुलहरूलाई सहयोग गर्न स्थानीय र दान गर्न सक्ने क्षमता भएका व्यक्तिहरू अगाडी आउनुपर्छ । नत्र ऋषिदोष लाग्छ । दिव्यभावना र शक्ति हुँदाहुँदै पनि रुग्णअवस्थाको पर्वाह नगरी गुरुकुललाई निरन्तरता दिने गुरूहरूप्रति सादर नमन गर्छु । कुन ठग् हुन् र कुन असली : यो एउटा अन्तहीन छलफलको विषय हो । परमात्माले ठगको पक्ष पोषण गर्दैन ।
कुनै पनि व्यक्ति वा समाजलाई अकारण दोषी ठान्नु हुँदैन । हरेक मान्छेका हृदयमा ईश्वरको वास हुन्छ । गुरुकुलको विषयमा नेपाली समाजले जटीलतम संसयको सामना गर्नु परिरहेको छ । गुरुकुल खोलिन्छन् । हामीले दाताका रूपमा गुरुकुलहरूलाई सहयोग पनि गरिरहेका हुन्छौं तर सरकारी विद्यालयका शिक्षकहरूले आफ्ना छोराछोरी बोर्डिंग–स्कूलमा पढाएझैं हामीले आफ्ना छोराछोरी वा आफन्तका बालबालिकालाई गुरुकुलमा पठाउने आँट गर्दैनौं । हाम्रो लागि धेरैजसो गुरुकुलहरू आफ्ना होइन अरूका गरिव बालकहरू पढ्ने ठाउँ’ हुन् । गुरुकुल खोल्छौं र तेहा पढ्नका लागि बटुकहरू पनि खोज्छौं । हाम्रो श्रद्धाले हाम्रा आफ्नै बालबालिकालाई गुरुकुलको विद्यार्थी बनाउन सक्दैन । मैले व्यक्तिलाई दोष दिन्न, समाजलाई पनि दोष दिन्न । यस्तो दोषपूर्ण व्यबस्था र मानसिकताको सृजना सरकारले गरेको हो । दोषी सरकार हो किनभने सरकारले स्वदेशी संस्कृतिको ज्ञानलाई शिक्षा नै मान्दैन ।
प्रश्न उठछ, त्यसो भए गुरुकुल शिक्षामा आफ्ना बालबालिका पठाउने वातावरण र विश्वास आर्जन गर्न के कस्तो गुरुकुल चाहिन्छ ? यो एउटा महँगो, त्यागपूर्ण र दीर्घकालीन प्रश्न हो । आजका अभिभावकहरूले अंग्रेजीलाई ज्ञानको मानक ठान्न थालेका छन् । यदि कुनै गुरुकुलले अंग्रेजी र संस्कृत दूवै भाषालाई समानमहत्व दिएर व्याबहारिक शिक्षाको प्रबन्धन गर्ने हो भने अभिभावकहरू निसन्देह आफ्ना बटुकहरूलाई गुरुकुल पठाउनबाट जोगिन्नन् । आधुनिक बोर्डिगहरूले दिने सुविधाहरू गुरूकुलहरू प्रत्याभूत गर्ने हो भने ‘मोटो फी‘ तिरेर निक्खाल बोर्डिंग–स्कूल पठाउनु भन्दा अभिभावकहरूले संस्कृतसहितको गुरुकुलमा पठाउन रोज्ने छन् । सन् २०१९ मा लेखकले ८२२ जना अभिभावकसंग अभिमत लिंदा ७८% अभिभावकहरूले प्रष्ट रूपमा गुरुकुल नै आफ्नो रोजाइमा पर्ने बताएका छन् ।
निसन्देहः गुरुकुलीय शिक्षा नेपालको मौलिक शिक्षा पद्धति हो तर संस्कृत शिक्षाको स्वाद प्राप्त नगरेका अभिभावकहरूका लागि गुरुकुल शिक्षा पहिलो रोजाईमा पर्दैन । संस्कृतको स्वाद पाएका अभिभावकहरूले थोरै भए पनि आफ्ना बालबालिकाले संस्कृतको ज्ञान प्राप्त गरूँन् भन्ने चाहन्छन् । यदि गुरुकुल प्रबन्धनले संस्कृत र अंग्रेजी दूवै विषयहरूलाई समान महत्व दिने हो भने अभिभावकहरूको रोजाई गुरुकुल नै हुने छन् । यसका लागि गुरुकुलहरूले आधुनिक बोर्डिंग स्कूलहरूले प्रयोग गर्ने स्रोत, साधन र मानसिकताको समुचित प्रयोग गर्नुपर्छ । यसको अर्थ हो – संस्कृतलाई पहिलो पठनपाठन विषय बनाएर अंग्रेजी, विज्ञान, नेपालीआदि विषयहरूलाई आधुनिक ल्यावहरूसहित प्रयोगमा ल्याउने व्यबस्था गर्नुपर्छ ।
–अन्त्यमा, गुरुकुलको लागि दान दिने अभिभावक वा लगानीकर्ताले आफ्ना बालकहरूलाई त्यहीं पठाउने विश्वास गर्नेगरी गुरुकुलहरूको व्यबस्थापन गर्ने हो भने गुरुकुलले नेपालको मौलिक शक्तिलाई जान्ने, बुझ्ने र यससंग रमेर अमेरिकासंग प्रतियोगिता गर्ने जनशक्ति प्राप्त गर्ने छ । यसको अर्थ, अहिले चलिरहेका गुरुकुलहरूले धर्म, संस्कृति तथा परम्पराको संरक्षण गर्न उत्पादन गरिरहेको जनशक्तिको महत्व स्वीकार गर्नुपर्छ । गुरुकुल र गुरुकुलबाट उत्पादन हुने जनशक्ति बास्तविक राष्ट्रका प्रहरी हुन् । सबैलाई पूर्णसम्मान गर्नुपर्छ ।