प्रतिक्रियावादीहरूले केही मानिसहरूलाई उचाल्ने कोसिस गरिरहेकाले त्यसको सबैले प्रतिवाद गर्नुपर्छः अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कपमल दाहाल प्रचण्डले इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस नगर्न राजावादीलाई चेतावनी दिएका छन् ।
राजेन्द्र श्रेष्ठद्वारा लिखित ‘ऐतिहासिक नेपालमण्डल’ पुस्तकको सोमबार विमोचन गर्दै अध्यक्ष प्रचण्डले केही मानिसहरूले इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस गरिरहेको र त्यो सफल नहुने बताएका हुन् । उनले कसैले त्यस्तो दुस्साहस गरे दुर्भाग्य हुने बताए ।
उनले भने, ‘अहिले इतिहासको चच्का पछाडि फर्काउने दुस्साहस केही मानिसले गर्दैछन् । मैले तराईमा अभियानमा हिँड्दै गर्दा भनेको थिएँ– अलिकति मुर्खता त पहिल्यै भइसकेको छ, दरबारियाहरूबाट । अब फेरि फर्किन्छु भन्यो भने अर्को मुर्खता हुन्छ, त्यो दुस्साहस नगर्नु सही हुन्छ ।’
अध्यक्ष प्रचण्डले अहिले प्रतिक्रियावादीहरूले केही मानिसहरूलाई उचाल्ने कोसिस गरिरहेकाले त्यसको सबैले प्रतिवाद गर्नुपर्ने बताए । उनले आफूहरुले गणतन्त्रले दिएको अधिकारका बारेमा जनतालाई बुझाउन नसक्नु कमजोरी भएको बताए ।
उनले भने, ‘गणतन्त्रले दिएको अधिकारकाबारेमा हामीले जनतालाई बुझाउन सकेनौं । त्यो हाम्रो कमजोरी हो । तर मुलुकमा केही पनि नभएको भन्ने होइन ।’
अध्यक्ष प्रचण्डले सरकारमा जाने आफूहरुको नीति नभएको बताए । उनले कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन लागेको भन्ने हल्लामा सत्यता नभएको बताए ।
सरकारमा रहेका दलका नेताहरुसँग सत्यनिरुपण र मेलमिलाप आयोग लगायतका विषयमा छलफल भएको तर माओवादी सरकारमा जानेबारे कसैसँग छलफल नभएको उनले बताए ।