कुशासनविरुद्ध एकीकृत समाजवादीद्वारा आन्दोलन घोषणा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा पार्टीका महासचिव तथा केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भुसालले भ्रष्टाचार अन्त्य, सुशासन र जनजीवीकाको विषयलाई लिएर आफूहरुले आन्दोलन घोषणा गरेको जानकारी दिए ।
एकीकृत समाजवादीले आर्थिक सामाजिक रूपान्तणमार्फत् देशको अवस्था परिवर्तन गर्न सरकारलाई ज्ञापनपत्र बुझाउने लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
जसअनुसार चैत २ देखि ६ गतेसम्म मुलुकको विकास र राजनीतिक निकासबारे पार्टीका मातहत कमिटीसँग छलफल गर्ने कार्यक्रम छ । चैत ७ देखि १५ गतेसम्म विभिन्न संगठनसँग छलफल गर्ने, चैत २२ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको भुसालले बताए ।
त्यस्तै वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन, वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापन पत्र पेस गर्ने कार्यक्रम रहेको भुसालले बताए । वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने एकीकृत समाजवादीले जनाएको छ ।