पाकिस्तानमा रेल अपहरणः तीन सयको उद्दार
बीबीसी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरू कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक बनाइएकामध्ये कम्तीमा ३०० जना मुक्त भएका सुरक्षा अधिकारीहरूले बताएका छन् ।
पाकिस्तानको सेनाका प्रवक्ताले सुरक्षा कारबाहीमा कम्तीमा ३३ लडाकु मारिएका बताए । रेलमा आक्रमण गरेको बलोच लिबरेशन आर्मी (बीएलए)माथि सुरक्षा कारबाही सुरु हुनु अगावै २१ जना सर्वसाधारण र चार सैनिकहरू मारिएका सेनाका प्रवक्ताले बताएका छन् ।
सेनाले उक्त क्षेत्रमा अन्य जोखिम भए नभएकोबारे खोजी भइरहेको जनाएको छ । मङ्गलबार क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा बीएलए लडाकुले गोली प्रहार गर्दै यात्रुहरूलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।
उक्त रेलमा आक्रमण हुँदा करिब ४४० जना यात्रु सवार रहेका सैन्य प्रवक्ताले बताएका छन् । सुरक्षा अधिकारीहरूलाई उदृत गर्दै केही सञ्चारमाध्यमले उक्त रेलबाट केही लडाकुहरूले बन्धकहरू समेत लिएर वरपरको पहाडी भूभागतिर गएको विवरण प्रकाशित गरेका छन् ।
आक्रमणका समयमा वरपरको क्षेत्रमा भागेका यात्रुहरूको खोजी भइरहेको पाकिस्तानी सेनाले जनाएको छ। कति जना यात्रुहरू हराइरहेका छन् भन्नेबारे यकिन हुन नसकेको अधिकारीहरूले बताएका छन् ।
स्थानीय सञ्चार माध्यममा प्रकाशित विवरण अनुसार बलोच लडाकुहरूले राजनीतिक बन्दी बनाइएका आफ्ना लडाकुलाई ४८ घण्टाभित्र मुक्त नगरिए सबै बन्धकको हत्या गर्ने चेतावनी दिएका थिए ।
बेलायत र अमेरिकालगायत कैयौँ पाश्चात्य देशहरूले यो समूहलाई ’अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन’ मानेका छन् । सन् १९६४ मा सिरियामा स्थापना भएको बीएलएफ सुरुमा इरानी बलोच विद्रोहमा संलग्न भयो। इरानी बलोचहरूले त्यहाँको सरकारविरुद्ध विद्रोह गरेका थिए ।