‘राजतन्त्रवादीहरुलाई विदेशीहरुले दिइरहेको टेको पुडोको भण्डाफोर गरौं’
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले कुनै स्वदेशी, विदेशी षडयन्त्र र प्रपञ्चबाट गणतन्त्रलाई कसैले हल्लाउन नसक्ने बताएका छन् ।
बुधबार विज्ञप्ति जारी गरी खनालले इतिहासले कूडाकर्कट बनाएर फ्याँकीसकेका तत्वको पुनः स्थापना सम्भव नभएको बताएका हुन् ।
उनले भनेका छन्, ‘अब नेपालमा जहिलेसम्म नेपाल राज्य रहने छ, त्यसबेला सम्म गणतन्त्र रहने छ । यसलाई कुनै स्वदेशी विदेशी षडयन्त्र र प्रपञ्चबाट कसैले हल्लाउन सक्तैन । यो गणतन्त्र आज पुँजीवादी गणतन्त्रका रुपमा छ, यो अझ अघि बढेर समाजवादी गणतन्त्रमा रुपान्तरण हुनेछ । तर इतिहासले कूडा करकट बनाएर फ्याँकीसकेका तत्वहरुलाई कुनै मतिभ्रष्ट, स्वार्थी र विदेश परस्त शक्तिहरुको क्षणिक वितण्डाबाट पुनःस्थापना गर्नु सम्भव छैन ।’
उनले कुनै पनि तानाशाहहरुका निम्ति संबिधान कागजको खोस्टो मात्र हुने भन्दै राजावादीहरुको हर्कत नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘पूर्वराजा ज्ञानेन्द्रको निम्ति आजको संविधान पनि त्यस्तै भएको छ । राजतन्त्रवादीहरुका यी उदण्डतापूर्ण हरकतहरु, संविधान विरोधी, गणतन्त्र विरोधी र धार्मिक समानता विरोधी प्रचारहरुको दृढतापूर्वक खण्डन गरौँ, वर्तमान गणतन्त्र र त्यसलाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नुपर्ने आवश्यकता र औचित्यको पुष्टि गरौँ, राजतन्त्रवादीहरुलाई विदेशीहरुले दिईरहेको टेको पुडोको भण्डाफोर गरौँ ।’
उनले राजतन्त्रवाद र यथास्थितिवादको एक मात्र विकल्प वैज्ञानिक समाजवाद नै भएको उनले उल्लेख गरेका छन् ।