अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि युक्रेन सहमत
बीबीसी । युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति जनाएको छ । मंगलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्तामा यस्तो सहमति भएको हो ।
वार्तापछि अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने जनाएको छ । ह्वाइट हाउसमा आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्तावबारे प्रतिक्रिया जनाउँदै युक्रेनले यसमा सहमति जनाएको रुसले पनि समर्थन गर्ने आशा व्यक्त गरे ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने संकेत गर्दै ट्रम्पले आपसी समझदारीका लागि पहल गर्ने उल्लेख गरे । वार्तामा अमेरिकी विदेश सचिव मार्को रुबियोले साउदी अरेबियाको मध्यस्थताको प्रशंसा गर्दै अब रुसले युद्धविराम सर्तहरू स्वीकार गरेर वास्तविक शान्ति वार्तामा अघि बढ्नुपर्ने बताए ।
उनले वार्ताको सफलताका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको पहललाई श्रेय दिँदै युद्ध अन्त्य गर्नु नै प्रमुख उद्देश्य रहेको स्पष्ट पारे ।
यस वार्तामा अमेरिकाको तर्फबाट विदेश सचिव मार्को रुबियोसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्व राजदूत स्टीभ विटकफ सहभागी थिए भने युक्रेनको तर्फबाट राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रमुख कर्मचारी एन्ड्री येर्माक, विदेशमन्त्री एन्ड्रि सिबिहा र रक्षामन्त्री रुस्टेम उमरोभ उपस्थित थिए । फेब्रुअरी २८ मा ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच विवाद भएको थियो । त्यसयता अमेरिका र युक्रेनबीच उच्चस्तरीय वार्ता हुन सकेको थिएन ।