माओवादीले भन्यो-राजा ल्याउने कुरा कल्पनापनि गर्न सकिँदैन
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राजा फर्कने कुरा असम्भव रहेको निष्कर्ष निकालेको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले अहिले धमिलो पानीमा माछा मार्ने षड्यन्त्र भएकाले त्यो पूरा नहुने निष्कर्ष निकालेको हो ।
त्यस्तै बैठकले सरकारले काम गर्न नसक्दा राजावादीहरू सडकमा आएका निष्कर्ष पनि निकालेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
उनले भने, ‘यो सरकारले पर्फमेन्स दिन नसकेकाले एकै निमेषमा तथ्यहरू बाहिर आउने गरेका छन् । अन्ततः सरकारको नालायकीले नै गर्दा राजावादी आशावादी भएका हुन् ।’
सापकोटाले संसारभरी नै अहिले अराजकता र अन्यौल जस्तो स्थिति रहेको भन्दै धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर सोच बनाउनु सपना मात्र हुने बताए ।
उनले राजाले शासन छाडेपछि पनि माओवादीले राजसंस्था ल्याउन खाजेको थियो भन्ने जनतालाई भ्रमित पार्ने उद्देश्यले आरोप लगाइएको बताए ।
उनले भने,‘माओवादीले राजा ल्याउने कुरा कल्पनापनि गर्न सक्दैन । माओवादीले ल्याउन खोजेको भनेर एउटा भाष्य बनाउन खोजिएको मात्र हो । जनतालाई भ्रमित पार्ने उद्देश्य अन्तरनिहीत छ । जनता भ्रमित हुँदैनन् ।’