बालेनलाई गण्डकीका स्वास्थ्यमन्त्रीको प्रश्नः चार भागको एकभाग पनि पुँजीगत खर्च गर्न नसक्नेका चर्का कुरा ?
काठमाडौं । काठमाडौं महानगरपालिकामा संघीय सरकारले लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि यो चर्चाको विषय बनेको छ । सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गर्दै आएका छन् । मेयर साहले तीन दिनअघि लेखे, प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे । मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!’
यसअघिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काठमाडौँ टावरको नक्सा पास प्रक्रियामा मुछिएपछि महानगरले कारबाहीका लागि सिफारिस गरेको थियो ।त्यसयता महानगरमा प्रमुख प्रशासकीय अधिकृत खाली छ । प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भनेर मेयर साहले पुस २४ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका थिए । तर सरकारले अहिलेसम्म पठाएको छैन । जसका कारण महानगरका सरसफाइ कर्मचारीले तलब पाउन सकेका छैनन् । प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि मेयर साहले प्रधानमन्त्रीविरुद्ध आक्रोश पोखेका हुन् ।
मेयर साह यतिमा रोकिएनन्, सोमबार मेयर साहले फेरि प्रधानमन्त्रीमाथि आक्रोश पोखे । मेयर साहले प्रमुख कार्यकारी अधिकृत टिकाउने नाममा भ्रष्टलाई संरक्षण गर्न नसकिने बताएका छन् ।
उनको प्रश्न थियो, ‘के कार्यकारी टिक्छन् भन्ने देखाउन हामीले भ्रष्टहरूलाई संरक्षण गरिराख्नु पर्ने हो ?’ उनले भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईकै कार्यकालमा भएका हुन् भनिदिउँला । तर त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईकै हो । अनि जति भ्रम फैलाए पनि, हामी तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठुलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो ।सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड्छु ।’
मेयर साहले यसरी लगातार प्रधानमन्त्रीमाथि आक्रोश पोखेपछि नेकपा एमालेका नेता एवं गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मेयर साहमाथि आक्रोश पोखेका छन् । उनले बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्रपस्न समेत नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीलाई आक्रोश पोख्ने ? भन्दै मेयर साहमाथि आक्रोश पोखेका हुन् ।
मन्त्री पाठकले सामाजिक संजालमा लेखेका छन्, ‘यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही पनि गर्न नसक्ने, छानबिन समिततिको प्रतिवेदन लुकाउने, बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्रपस्न समेत नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीलाई आक्रोश पोख्ने ? के हो बालेन भाइ तिम्रो पारा ? हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौं । नियम, कानुन र कार्यविधि भन्दा माथि कोही हुँदैन र तिमी पनि छैनौ । चार भागको एकभाग पनि पुँजीगत खर्च गर्न नसक्नेका कुरै चर्का । तिम्राजस्ता चर्काकुरा अरुहरुलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाइ ।’