वेदान्त–थेरापी
डा. गोविन्दशरण उपाध्याय ।
वेदान्त प्राचीन वैदिक दर्शनशास्त्रको एउटा शाखा हो जसमा अनेकौं उपशाखाहरू छन् । वेद यसको मूल हो । त्यसै भएर वेदलाई पौरस्त्य सभ्यता र संस्कृतिको आधार मानिन्छ । वेदबाट भारतवर्षीय संस्कृति, सभ्यता, ज्ञान प्रणाली तथा जीवन दर्शनलाई छुट्याउन सकिन्न । वैदिक वृक्षको एउटा बलियो शाखाका रुपमा वेदान्तको छुट्टै पहिचान छ । यदि कुनै वेदान्तिले (अद्वैत, विशिष्टताद्वैत, स्वाभाविक भेदाभेद, द्वैत, अचिन्त्यभेदाभेद, शुद्धद्वैत) आफ्नो सिद्धान्त, सम्प्रदाय वा शास्त्रलाई वेद, उपनिषद् भन्दा माथिल्लो दर्जाको ठान्छ भने उक्त वेदान्ति पनि जैन, बौद्ध दार्शनिक श्रेणीको अधिकारी हुन्छ ।
तर वेदान्तिहरूमा एस्तो समस्या आन्तरिकरूपमा अभ्यास गरिए तापनि प्रत्यक्षरूपमा यस्तो अभ्यासलाई प्रोत्साहित गरिन्न । यसको अर्थ वेदलाई अन्तिम प्रमाणिक र आफ्नो आस्थाको स्रोत भन्दै प्रचारप्रसार गर्ने (वेद र वैदिक वाक्मयको दुरुपयोग गर्दै) तर भित्रितहमा ‘बाबावाद’का (हाम्रा गुरूनै ईश्वर हुन् । हाम्रा गुरुको स्थान बेदभन्दा उँचो छ, वेदहरूले जान्न नसकेका कुराहरू हाम्रो गुरूले जानेका छन् र हाम्रो गुरू र तिनले बोलेका कुराहरू वेद भन्दा महान् छन् भन्ने र विश्वास गर्नेहरू बाबा/बाबीवादी हुन्) थुप्रै चटकेहरू प्राचीनकाल र अहिले पनि सक्रिय छन् । साच्चिकै आध्यात्मिकलाई ‘बजारमा’मा रुपान्तरित गरेर ‘अध्यात्मिक माइन्डसेट’ (Spiritual Mindset) मा सबैभन्दा बढी कब्जा गर्नेमा यस्तै चटकेहरू अगाडी छन् ।
वैदिक सनातनसंस्कृतिको प्रस्थान विन्दु नै ‘जिज्ञासा’ भएकोले तार्किक तथा साधनाको स्वतन्त्रता यसमा उपलब्ध छ । वैदिक जीवन दर्शन र पद्धतिप्रति पूर्ण असहमति राख्ने चार्वाक्हरूले पनि वैदिक समाजभित्र सम्मानजनक स्थान प्राप्त गरेकै छन् भने वैदिक विद्याको उपयोग गरेर आफ्नो र समाजको सेवा गर्न चाहन्छु भन्नेहरूप्रति अझैं लाचिलो हुनु स्वभाविक हुन्छ । आलोचना र प्रत्यालोचना जो–सुकैको हुन सक्छ तर उपयोगितारहित कुनै हुँदैन । टेक्नोलोजीउपयोग गरेर वैदिक संस्कृतिका अनेकौं पक्षहरूलाई उजार गर्नेहरूको सम्मान गर्नुपर्छ तर पद्धितभित्र रहेर काम गर्छु भन्ने तर वैदिक संस्कृतिको आधारशीला ‘वेद’ भन्दा मेरो गुरुको ज्ञान श्रेष्ठ छ भन्नेहरू (मेरो ज्ञान श्रेष्ठ छ) भन्नेहरू धर्मध्वज (धर्मको नाम लिएर ठग्ने) हुन् । यस्ता ठगहरूको उपदेश, साधना निकै राम्रो देखिए पनि बाख्राको घांटीमा भएका स्त्ननझैं उपयोग रहित हुन्छन् । अध्यात्मिक उन्नतिमा यिनको कुनै उपयोगिता र महत्व हुँदैन ।
वेदान्त दर्शनले निर्धारित गरेको आध्यात्म र जीवनदर्शन चटक/मटक/लटक/झटक भन्दा निकै विनम्र र साधनायुक्त छ । बाबा/बाबीहरूको चटके (महाफिली) आध्यात्मिकता तत्कालका (अल्पकालका लागि) उपयोगी छ र यसले वैदिक सनातन धर्मको उदारता र साधना पद्धतिप्रति अभिरुचि जगाउने काम गरिरहेको छ तर दीर्घकालीन साधनाका लागि उपयुक्त छैन । कुनै पनि साधना महाफिली हुँदैन । वेदान्तका प्राचीन आचार्यहरूको जीवनशैली, साधनाशैली तथा जीवन दर्शनको अध्ययन गर्नेले यो तत्थ्य बुझेका छन् । असलमा, सम्पूर्ण वेदान्त दर्शन तापत्रय (आधिभौतिक, आधिदैविक तथा आध्यात्मिक ताप)बाट मुक्ति प्रदान गर्दै पूर्णआनन्द अथवा पूर्णस्वतन्त्रता प्राप्ति गराउने उपचारात्मक (Therapeutic Theories) हुन् । आफ्नो व्यक्तित्व तथा बुझाई अनुसार वेदान्तका आचार्यहरूको शिष्यत्व ग्रहण गरेर ‘ब्रह्ममुहुर्तदेखि शयन पर्यन्त’ आत्मउपचार गर्दै मोक्ष, मुक्ति, पूर्णस्वतन्त्र, पूर्णता, भगवान्को सान्निध्य वा ब्रह्मस्वरूप प्राप्त गर्छ ।
चटकेहरूको लक्ष भौतिक खुशी (रमाइलो)का केन्द्रीत हुने हुँदा यिनको आध्यात्मिक मूल्य हुँदैन । स्मार्त, शाक्त, वैष्णव तथा शैव उपासनाहरू मूलतः व्यक्तित्वअनुसारका तापत्रयबाट पूर्णस्वतन्त्रता प्राप्त गर्ने उपचार पद्धति हुन् । यदि कसैले जन्म, मृत्यु, जरा तथा व्याधिबाट निर्मित तापत्रयबाट पूर्णमुक्ति चाहन्छ भने सहीसही तवरले यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान तथा समाधिको अभ्यास गर्नुनै पर्छ र यसले क्रमशः धर्म, अर्थ, काम तथा मोक्षको अभिप्रप्ति हुन्छ ।